Logo

सुवासजी : सातौं कक्षादेखिका मेरा सहपाठी



आज बिहान म उठ्न नपाउँदै लगातार फोनको घन्टी बजिरह्यो । सुवासजीको निधनको दुःखद खबर सुनाउन साथीहरुले फोन गर्नुभएको रहेछ । सुवासजी मेरो सातौं कक्षादेखिको सहपाठी हुनुुहन्थ्यो । उमेरमा कान्छो भएकाले हामी उहाँलाई माया पनि गथ्र्यौं । उहाँ माध्यमिक कक्षामा मात्र होइन, त्रिचन्द्रमा आईएस्सी पढ्दा पनि सहपाठी नै हुनुभयो ।
बीएको जाँच दिएपछि म राजनीतिमा गएँ । उहाँ वकिल हुनुहुन्थ्यो । पछि मैले नै उहाँलाई राजनीतिमा तानेको हुँ । २०४८ मा म इलामको प्रतिनिधिसभा सांसद भएँ । उहाँ राष्ट्रिय सभामा जानुभयो । पछि मैले नै उहाँलाई इलाम लगेर चुनाव लडाएँ । चुनावको बेला मेरो क्षेत्रमा उहाँ आउनुहुन्थ्यो, म उहाँको क्षेत्रमा गएर प्रचारप्रसर गर्थें ।
संविधानसभामा पनि उहाँ र म इलामबाटै निर्वाचित भयौं । सुवासजी अध्यक्ष हुनुभयो, म देशको ३४औं प्रधानमन्त्री भएँ । संविधानसभा ६०१ सदस्यीय थियो । नेपालको नाम, झन्डा आदि बदल्ने सोच लिएर आएका सभासद थिए । संविधान बनाउन अत्यन्त कठिन थियो । ती सबैलाई एक ठाउँमा ल्याएर संविधान बनाउन उहाँको चहकिलो योगदान छ ।
हामीले एउटै पार्टीमा बसेर लामो इतिहास पार गर् यौं । गत मंसिरको निर्वाचन सकिएपछि एयरपोर्टमा भेट भयो । पार्टी विभाजित हुनु दुःखद कुरा हो, यसलाई नयाँ ढंगले एकताबद्ध गरेर जानुपर्छ भन्नुभयो । सहपाठी र कमरेड भएकाले हामीबीच धेरै कुराकानी भइरहन्थे । उहाँको दुःखद निधनले म स्तब्ध छु ।
उहाँ देशभक्त र लोकतान्त्रिक चरित्रको साथी हुनुहुन्थ्यो । उहाँ कुशल नेता, कुशल वकिल, कुशल सांसद, कुशल सभामुख, कुशल सभाध्यक्ष रहनुभयो । असल र मृदुभाषी कमरेड हुनुहुन्थ्यो । उहाँको शालीनताका कारण कसैलाई बिझाएको जस्तो लाग्दैन उहाँ सबैसँग उत्तिकै मिल्नुहुन्थ्यो । सदैव मध्यविन्दुबाट बोल्ने कमरेड हुनुहुन्थ्यो । परिवारजनमा हार्दिक श्रद्धाञ्जलि ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग गरेको कुराकानीमा आधारित



प्रतिक्रिया दिनुहोस्