काठमाडौं, २७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल यही भदौ ३० गते अमेरिका जाँदैछन् । युएनको महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका उड्न लागेका हुन् । यसअघि जम्बो टोलीसहित अमेरिका उड्न लागेको भनिएपनि प्रधानमन्त्री दाहालले अमेरिकाको भ्रमणमा सानो टिम बनाएका हुन् ।
प्रधानमन्त्रीको भ्रमणको तयारीको लागि यसअघि नै परराष्ट्रमन्त्री एनपी साउद अमेरिका उडिसकेका छन् । अब प्रधानमन्त्री दाहालसँग प्रमुख स्वकीय सचिव गंगा दाहाल, स्वकिय सचिव रमेश मल्ल, निजी फोटोग्राफर प्रदीपराज वन्त र निजी सुरक्षाकर्मीहरु मात्रै भ्रमण दलमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री दाहालकै चाहनाअनुसार भ्रमण दल सानो बनाईएको हो । प्रधानमन्त्री दाहालसहित भ्रमण दल ६ सदस्यीय हुनेछ । प्रधानमन्त्री दाहालले २१ सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री दाहाल अमेरिकाबाट सिधै चीन भ्रमणमा जानेछन् । File Photo/ReportersNepal