काठमाडौं, भदौ २९ । साविक विजेता श्रीलंका एसिया कप–२०२३ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सुपर–४ खेलमा श्रीलंकाले पाकिस्तानलाई २ विकेटले पराजित गरेको हो ।
श्रीलंकालाई अन्तिम २ बलमा ६ रन आवश्यक थियो । अर्को बलमा चारिथ असालान्काले चौका र अन्तिम बलमा २ रन लिएर टोलीलाई रोमाञ्चक जित दिलाए । श्रीलंका ११ औं पटक एकदिवसीय एसिया कपको फाइनलमा पुगेको छ । श्रीलंकाले उपाधिका लागि आइतबार कोलम्बोमा भारतको सामना गर्नेछ ।
कोलम्बोको आर प्रेमदासा रंगशालामा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । डीएलएस पद्धति अन्तर्गत श्रीलंकाले २५२ रनको लक्ष्य मात्र पाएको थियो । श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाएर जित निकालेको हो ।