काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने सोच नराखेको बताएका छन् ।
‘बालकृष्ण खाँडको कुरा पुरानो भयो । मैले सरकार पूर्वाग्रही भयो भनेको छैन । शेखर कोइरालाले भनेको भए उहाँसँगै सोध्नुस् । कांग्रेस सरकारबाट बाहिरिन चाहेको कुरा मलाई थाहा छैन । गठबन्धनमा कुरा नमिलीकन सरकार कसरी चल्छ ? सरकार अगाडि बढोस् भन्ने मेरो चाहना । पार्टीको पनि त्यही चाहना हो भन्ने मलाई लाग्छ । अहिलेसम्म गठबन्धनमा विग्रह देखिएको छैन । भविष्यको कुरा त के भन्न सकिन्छ र ?’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
शान्तिप्रक्रिया सुरु भएको १५-१६ वर्ष बितिसकेकाले यसलाई दलहरुबीच छलफल गरेर तार्किक निष्कर्षमा पुर् याउनुपर्ने पनि नेता श्रेष्ठले औंल्याए । साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नेपालको चुच्चे नक्सा आफ्नो नक्सामा नसमेटेको बारे कुराकानी गर्नुपर्ने औंल्याए । उनले थपे, ‘चुच्चे नक्साबारे हामीले अन्तर्राष्ट्रिय जगत्लाई थाहा दिनुपर्थ्र्यो । समयमै थाहा दिइएन भन्ने कुरा आएको छ । हामीले चीन र भारत दुवैलाई खुसी बनाएर सहयोग र समर्थन लिनुपर्ने अवस्था छ ।’
कांग्रेस नेता श्रेष्ठले चिनियाँ राजदूत छन् सोङको अभिव्यक्ति सच्चाउनुपर्ने पनि जिकिर गरे । उनले भने, ‘भारतका राजदूतले नेपाल र चीनको सम्बन्धमा टिप्पणी गर्ने, चीनका राजदूतले नेपाल र भारतको को सम्बन्धमा टिप्पणी गर्ने कुरा आउँदैन । राजदूतले त्यसरी बोल्नुहुन्थेन । त्यसलाई उहाँले सच्चाउनुहुन्छ, भन्ने लागेको छ ।’ साथै उनले प्रधानमन्त्री प्रचण्डलाई मुलुकको हितमा काम गरेर आउन सुझाव दिए । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले सहमति, सहकार्य र एकताका निम्ति अपरिहार्य व्यक्ति गुमाएको पनि उनले बताए ।