Logo

‘चुच्चे नक्सा नराखेर चीनले घुमाउरो रूपमा भारतकै समर्थन गर्‍यो’



काठमाडौं, ३१ भदौ । वरिष्ठ कूटनीतिज्ञ एवं प्राध्यापक लोकराज बरालले चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्याजसहितको बीआरआई परियोजनामा हस्ताक्षर गर्न नहुने औंल्याएका छन् ।
‘बीआरआईको ऋणको धरापमा परिन्छ कि भनेर इटालीले सही गरिसकेको पैसा पनि फिर्ता गरिदियो । प्रचण्डले चीनसँग ब्याजसहितको सही गरेर आउनुभो भने राम्रो हुँदैन । ब्याज हटाएर अनुदान दिन्छ भने लिने भनेर शेरबहादुर देउवाको पालामा नै सरकारले निर्णय गरिसकेको छ । अमेरिकाको जस्तै अनुदान दिन्छु भने मात्र बीआरआई सम्भव होला । ब्याज तिर्न सक्दैनौं भने जानी जानीकन चीनसँग ऋण किन लिने ?’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
चीनले ग्लोबल सेक्युरिटी इनिसिएटिभ, ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ, ग्लोबल डेभलपमेन्टल इनिसिएटिभको कुरा गरिरहेको चर्चा गर्दै बरालाले सभ्यता, संस्कृति र विकासमा आदानप्रदान भए पनि उसको सुरक्षा छातामुनि बस्न नहुने बरालले औंल्याए । प्रधानमन्त्रीको चीनमा भ्रमणमा त्यस्तो ‘ब्रेक थ्रु’ नहुने उनको विश्लेषण छ । उनले भने, ‘चिनियाँ राजदूतले पोखरा विमानस्थल बीआरआई अन्तर्गतको हो भनिरहेका छन् । चीनले बनाइसकेको कुरा अब ग्रान्ट भन्यो भने ठीकै हुन्छ । चीनले नाका खोल्ने कुरासम्म मान्ला । पारवहन र विकासको योजनाबारे सम्झौता होला । तर ब्रेक थ्रु होला भन्ने लाग्दैन ।’
चीनले चुच्चे नक्सालाई किन मान्यता दिएन भन्ने पत्रकार धमलाको प्रश्नमा कूटनीतिज्ञ बरालले भने, ‘चीनले नबुझीकन नक्सा निकाल्यो होला त ? हामीले पनि चुच्चे नक्सा हत्त न पत्त तँछाडमहाड गरेर पास गर् यौं । पासै गरेपछि कसरी वार्ता हुन्छ ? मलाई त के लाग्छ भने चाइनिजले पनि घुमाउरो रुपमा भारतकै समर्थन गर् यो । हामीले कालापानी त ल्याउन सकेनौं भने लिम्पियाधुरा परकै कुरा भयो । कि वार गरेर जितेर ल्याउनु पर् यो ।’
नेपाल र भारतबीको सम्बन्धमा चिनियाँ राजदूत छन् सोङको अभिव्यक्ति गलत भएको पनि बरालले बताए । उनले भने, ‘अर्काको मुलुकमा आएर ठाड्ठाडै बोल्न मिल्छ ? चिनियाँहरुको रुप पनि भरखर थाहा हुँदैछ । हामी नेपाली नै त्यस्तै छौं । यही कुरा भारतीय दूतले बोलेको भए यहाँ कति जुलुस निस्किन्थ्यो ? कति बन्द हडताल हुन्थे ? भारतका विषयमा टेलिभिजनमा आएर उफ्रनेहरु अहिले किन बोल्दैनन् त ? लिप सर्भिसजस्तो देखाउनका लागि बोल्छन् कतिपय ।’
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघीय महासभाबाट चीन भ्रमणमा जानु कुनै गलत नभएको बरालले बताए । उनले भने, ‘महासभामा जानु एउटा कर्मकाण्ड मात्र हो । चीन त जानैपर्छ । चीनका राष्ट्रपति सी जिनपिङ चेन्नईबाट नेपाल आएको होइन ? प्रचण्ड संयुक्त राष्ट्रसंघीय महासभामा जाने हो, अमेरिका भ्रमणमा गएको होइन । यहीं आएर जानुपर्ने के कारण छ ? कहाँबाट गयो भन्दा पनि के काम हुन्छ भन्ने ठूला कुरा हो ।’
अर्को प्रसंग प्राध्यापक बरालले शेरबहादुर देउवा १० पटक प्रधानमन्त्री बने पनि मुलुकका लागि केही उपलब्धि नहुने जिकिर गरे । उनले भने, ‘प्रचण्डको ठाउँमा शेरबहादुर त आउँछ नि । सहमति त्यही छ । ८९ वर्षको उमेरमा स्वास्थ्य पनि ठीक छैन । बोल्न पनि गाह्रो छ । दौडधुपभन्दा अब त आरामसित बस्ने बेला हो । शेरबहादुर १० पटक प्रधानमन्त्री भए पनि के फरक पर्छ हामीलाई ? यहाँभन्दा बढी के गर्छन् ? प्रचण्डको ठाउँमा शेरबहादुर आएर योभन्दा गतिलो के हुन्छ ? यहाँ कोही आए पनि केही गर्न दिँदैनन् । नारायणकाजीले केही गर्न खोजेको थियो । ब्रेक लगाउने यिनै हुन् । गृहमन्त्री डमी जस्तै भइसके ।’ अहिलेका नेताहरू रहुन्जेल मुलुकमा रुपान्तरण सम्भव नहुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्