Logo

सजीवता सिङ्गो शरीर र काल्पनिकता शरीरको श्रृङ्गार हो : बुँद राना



साहित्य वार्ता

(आजीवन सदस्य–नेपाल प्रज्ञा प्रतिष्ठान)
प्रथम प्रकाशित रचनाः स्वर्ग नै सरेछ भूमा ! शीर्षक कविता थियो । मुमा बडामहारानी रत्नराज्यलक्ष्मी शाहको जन्मदिन पारेर मनाइने बाल दिवसमा २०२५ भाद्र ४ गते ।

प्रकाशित कृतिहरूः (१) पुष्टकारी– बालकवितासंग्रह (२) खै गुजीः बालकवितासंग्रह (३) चनाचटपटे –बालकवितासंग्रह, (४) पैलो भयो प्यादा– बालगीतिकथा (५) डण्डिबियो –बालगीतिकथा (६) किकी–बालगीतिकथा (७) अब किन मान्थिन्– खण्डकाव्य (८) छिनोफानो– खण्डकाव्य (९) चक्रवात–खण्डकाव्य (१०) एकाकार–खण्डकाव्य (११) चल्दैछ जिन्दगी– गजलसंग्रह (१२) रातो मलाई प्यारो –गजलसंग्रह र (१३) तीलमा लेङ्गम– गीतिनाटक

प्रकाशनोन्मुख कृतिः नेपालीगजल संग्रह, उर्दू गजल संग्रह, (नाम राख्न बाँकी)

यहाँको साहित्य लेखन कहिलेबाट सुरू भयो ?

अनौपचारिक रूपमा हाइस्कुल पढ्दा वि.सं. २०१८/१९ तिर लेख्ने अभ्यास थालिएको हो । प्रकाशनलाई औपचारिक ठान्ने हो भने २०२५ हो भन्नुपर्छ ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?

पाठ्यपुस्तकमा पढिएका तुलसीदास, कबिरदास, सुरदास, पन्त, प्रसाद, निराला आदिकविका पद्यकविताको मिठासबाट म प्रभावित थिएँ ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?

सुस्त–सुस्त गड्यौलाको गतिमा भन्न मन लाग्यो ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट छैन, कारण (क) सन्तुष्टिले निष्क्रिय बनाउँछ (ख) अझै सिर्जना गर्न बाँकी छ ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?

एउटा उर्दू गजलसङ्ग्रह र थप एउटा नेपाली गजलसङ्ग्रह छपाउनुपर्ला भनेको छु ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?

साहित्य र स्रष्टाप्रति राष्ट्रको गहन जिम्मेवारी रहनुपर्ने हो, दुःख लाग्छ– त्यस्तो देखिएको छैन । खाली औपचारिकता निर्वाह गरेजस्तो देखिन्छ । साहित्यले समाजको रूपान्तरणमा खेल्ने भूमिकालाई बेवास्ता गरिएको छ भन्न कर लाग्यो ।

तपाईंको साहित्यिक आदर्श के हो ?

सफासुग्घर मानव समाज ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?

लेखकीय दायित्व के हो भन्ने सम्बन्धमा लेखकको स्पष्ट धारणा हुनुपर्दछ । जबसम्म अस्पष्टता रहन्छ– लेख्नेले लेख्ने हो लेखि नै रहन्छ तर दायित्व पूरा हुँदैन । कतै लेखकहरू यही अस्पष्टताको भुलभुलैयामा भट्किरहेका त छैनन्, यस्तो परिदृश्य देख्न पाइन्छ ।

तपार्इं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?

पूरै सन्तुष्ट छैन, केही हदसम्म सन्तुष्ट छु पनि ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?

साहित्य समाजको प्रतिविम्ब हो । हाम्रो समाजले चेतनाको अग्रगतिलाई जसरी पछ्याउनुपर्ने हो– त्यसरी पछ्याउन सकेको छैन । त्यसैले दुविधा र अलमलको अवस्था छ । भनौं प्रयोगाधीन छौं हामी, प्रयोगै प्रयोगमा हाम्रा प्रयास प्रयोगसिद्ध हुनबाट वञ्चित रहन गएका छन् । ठोस स्थायी गतिशील परिणामको अभावमा समाजको जुन गति छ त्यही गति छ साहित्यले पनि खासै ठूलो फड्को मार्न सकेको छैन ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?

शरीरको तापक्रमजस्तो न्यानो, न धेरै तातो न धेरै चीसो जीवनदायी ।

लेखनप्रति केले पे्ररणा दिन्छ जस्तो लाग्छ ?
आफूले जहाँ सास फेर्ने गरिन्छ– त्यहींको वातावरण, घटना र परिघटना नै मूल रूपमा प्रेरक हुने गर्छन् ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?

छैन । किनभने भावना, कल्पना र सिर्जनाले कतिबेला घण्टी बजाउने हुन्– थाहा हुँदैन ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?

केही अपवादबाहेक सबैलाई लेख्न शान्त वातावरण नै चाहिन्छ ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?

छान्नै पर्दैन । जाग्रत अवस्थामा हुनुपर्छ एक सा एक विषयवस्तु तैंछाड मैछाड गर्दै आइलाग्छन् । एउटालाई चप्प समात्यो पुग्यो ।

सफल स्रष्टाका आवश्यक गुण के/के हुन् ?

सिर्जनाप्रति इमानपूर्वक गम्भीर हुने गर्छन् । दम्भ पाल्दैनन् । फुइँ लाउँदैनन् । छत्रछाया खोज्दैनन्, ज्यूहजुर गर्दैनन् ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?

मसँग परिमाणमापक त्यस्तो कुनै यन्त्र वा संयन्त्र भएन । कुनै संस्था वा निकायले यस विषयको व्याख्या संकलन गरेजस्तो पनि लाग्दैन । यस्तोमा के भनौं ? असमन्जसमा छु । गद्य–आख्यान होस्, कविता होस्, निबन्धनियात्रा होस्, जीवनी होस्, संस्मरण होस्, सबै विधाका पाठक उत्तिकै देख्छु । एउटा गजलकारको नाताले धेरैजसो युवावर्गको गजलप्रति बढी झुकाव भएझैं लाग्छ ।

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?

दुवैको सन्तुलन मिलेको राम्रो । सजीवता सिङ्गो शरीर हो भने काल्पनिकता शरीरको श्रृङ्गार ।

लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?

राष्ट्रको अस्मितालाई जब दाउमा लगाइन्छ, जब मानवमूल्यको अवमूल्यन हुन्छ र जब नैतिकता तथा चरित्रको खिल्ली उडाइन्छ– तब नलेखी कहाँ बस्न सकिन्छ र !

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?

यस सम्बन्धमा मेरो भनाइ यस्तो छ– नयाँ हाक्न सत्ता नयाँ बन्नुपर्छ नयाँ बन्नलाई नयाँ भन्नुपर्छ । सोझो कुरा, पुरानो कुरा दोहो¥याएर नयाँ भइन्न नै, नयाँ हुनका लागि हिजोका दिनमा कसैले भन्न नभ्याएको नयाँ सोच अघि सारेर नयाँ कुरा भन्नै पर्ने हुन्छ । यति गर्न सके पुग्यो ।

किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?

होला केही आवश्यकता अनि हुन सक्छ बाध्यता त्यतै लाग्नुपर्ने । धन्न तपाईंको प्रश्नमा ‘केही स्रष्टा’ आयो ! ‘बहुसंख्यक स्रष्टा’ आएको भए त सोचनीय हुन जान्थ्यो । यसलाई विचारको स्वतन्त्रतामा गनिदिऊँ । हुन्न ?



प्रतिक्रिया दिनुहोस्