Logo

मेयर रेणु दाहालले मनाइनन् यसपालि तीज



काठमाडौं, १ असोज । देशभरि र विदेशमा समेत आज नारीको महान् पर्व हरितालिका तीज मनाइँदै छ । तर भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भने यस पटक हरितालिका तीज मनाइनन् । उनकी आमा एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको गत असार २७ मा ६९ वर्षको उमेरमा निधन भएका कारण रेणुले हरितालिका तीज नमनाएकी हुन् । ‘विगतमा आमासहित पारिवारिक वातावरणमा तीज मनाउँथें । यो दुःखको वर्ष भएकाले घरमा नै बसेकी छु । आमा नहुँदा आफूलाई टुहुरो वा अभिभावकविहीन महसुस गरेकी छु,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भनिन् ।
मेयर दाहालले तीजलाई भड्किलो हुन नदिन तीनै तहका सरकार चनाखो हुनुपर्ने औंल्याइन् । उनले थपिन्, ‘तीज विद्रोह र संघर्षको शंखघोष गरिएको दिन हो । हिजो यो मनभित्रको वेदना पोख्ने दिन थियो । अहिले तडकभडक, खर्चिलो, भड्किलो र विकृति देखिएको छ । संघ, प्रदेश र स्थान्ीय सरकारले तीजलाई मर्यादित, अनुशासित र मितव्ययी बनाउन प्रयास गर्नुपर्छ । भद्दा हुनबाट बचाउनुपर्छ ।’ भरतपुर महानगरले तीज पर्वलाई भोजभतेर र मनोरञ्जन गरेर मनाउने नगरेको पनि उनले बताइन् ।

 



प्रतिक्रिया दिनुहोस्