Logo

शिक्षक आन्दोलन : आजबाट सार्वजनिक विद्यालयमा हुने पठनपाठन ठप्प



काठमाडौं, ४ असोज । नेपाल शिक्षक महासंघले आजपनि काठमाडौं केन्द्रित आन्दोलन जारी राख्ने भएको छ । महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै बुधवारदेखि काठमाडौं केन्द्रित आन्दोलनका कार्यक्रम सुरु गरेको हो ।

आज बिहान ११ बजे माईतीघर–बानेश्वरखण्डमा आन्दोलन गर्ने बताएको छ । पटकपटक सरकारसँग सहमति र वार्तामा बसेपनि विधेयक बनाउँदा शिक्षक कर्मचारीहरूलाई मर्का पार्ने गरी आएको महासंघको आरोप छ । देशभरबाट राजधानी आएका शिक्षकले बुधबार विद्यालय पोसाकमै राजधानीमा विरोध प्रदर्शन गरेका छन्। आन्दोलनका कारण आजबाट सार्वजनिक विद्यालयमा हुने पठनपाठन ठप्प हुने भएको छ ।

महासंघको मुख्य माग शिक्षक सरुवा, बढुवा, कारबाहीलगायतका अधिकार स्थानीय तहलाई दिन नहुन रहेको छ । मन्त्रिपरिषद्बाट पटकपटक स्वीकृत पाएर गत साउन २७ गते संघीय संसद्मा दर्ता गराएको विद्यालय ‘विद्यालय शिक्षा विधेयक २०८०’ को विरुद्धमा आन्दोलनमा उत्रिएको शिक्षक महासंघले १८ बुँदे माग राखेका छन् ।

महासंघले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका छन् ।

महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विगतमा दुईपटकसम्म भएको सहमति विधेयकमा उल्लेख नगरेको भन्दै निर्णायक आन्दोलनमा उत्रिएको जनाएको छ । महासंघले दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग सारेको छ ।

विधेयकमा शिक्षकले प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्नुपर्ने व्यवस्था संशोधन गर्नुपर्ने, दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना, सञ्चालन वा व्यापार व्यवसाय गर्न नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नहुनेलगायतका प्रावधानहरूमा परिवर्तन गर्नुपर्ने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्