Logo

‘म शेरबहादुरको पनि हुँ, शेखरको पनि हुँ’



काठमाडौं, ४ असोज । नेपाली कांग्रेसका नेता एवं राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले केन्द्रीय समितिको बैठकबाट पार्टी बलियो र दह्रो हुने विश्वास व्यक्त गरेका छन् ।
‘दुई महिनापछि आजबाट केन्द्रीय समिति बैठक बस्दैछ । हिजो यसै सिलसिलामा पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेट भएको होला । दुवै नेताको चाहना पार्टी कमजोर होस् भन्ने छैन । पार्टीलाई बलियो र दह्रो बनाउने नै इच्छा छ । जहाँसम्म हिजो शेखर डाक्टरसाब चर्को रुपमा प्रस्तुत हुनुभयो भन्ने कुरा छ, मलाई त्यसमा विश्वास छैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
खतिवडाले शेखर कोइरालाका केही कुरा सभापतिले सम्बोधन गर्नुपर्ने पनि औंल्याए । उनले भने, ‘दुवै नेताको चिन्ता पार्टीलाई अघि बढाउने नै हुन्छ । शेरबहादुर देउवाको यो अन्तिम कार्यकाल हो । उहाँले शेखर कोइरालाका केही कुरा अवश्य पनि सम्बोधन गरेर जानुहुन्छ । दुई नेताका बीचमा केही दूरी छ भने पनि त्यो आजको बैठकबाट घट्छ ।’
भातृसंगठनलाई जिम्मेवारी गाउँगाउँमा पठाउने कुरामा कमीकमजोरी भएको औंल्याउँदै खतिवडाले सधैं एकैथरी मानिसलाई प्रश्रय दिँदा नयाँ पुस्ताका साथीहरुमा उत्साह नआउने टिप्पणी गरे । उनले भने, ‘पार्टीमा दुई थरी कार्यकर्ता हुँदा रहेछन् । एउटा खुसुखुुसु कान भर्ने, अर्को खुरुखुरु काम गर्ने । पार्टीमा अब भागबन्डाभन्दा पनि क्षमता र योग्यतका आधारमा जिम्मेवारी दिने परिस्थिति बनाउनुपर्छ । अहिले जिम्मेवारी पाउने पनि पार्टीकै साथीहरु हुन् । जहाँसम्म मेरो कुरा छ, म शेखरको पनि हुँ, शेरबहादुरको पनि हुँ ।’
शिक्षकहरुको समस्या समाधानका लागि वार्ताको विकल्प नभएको पनि उनले औंल्याए । खतिवडाले भने, ‘२०२८ पछि विद्यालय शिक्षा ऐन आउन लागेको छ । सबै कुरा बेठीक भयो भन्ने होइन । शिक्षकहरुका गर्न सक्ने जति माग सम्बोधन हुन्छन् । उनीहरुलाई घरपायक बनाउने, निजामती सरह सुविधा दिने पक्षमा छौं । वार्ताको माध्यमबाट समाधान गरेर अघि जान तयार छौं ।’



प्रतिक्रिया दिनुहोस्