Logo

‘रेन्बो फेमिली’ को शङ्कास्पद भेलालाई गृहको अनुमती, पर्यटन मन्त्रालय मौन



काठमाडौं, असोज ४ । गृहमन्त्रालयले सुदूरपश्चिमको पर्यटकीय क्षेत्र रामारोशन प्रवेश गराउन २५ देशका पर्यटकलाई अनुमति दिएको छ। रामारोशन पुगेका पर्यटकलाई स्थानीय प्रशासनले रोक लगाएको थियो। तर, गृहमन्त्रालयले विदेशी पर्यटकलाई रामारोशन प्रवेशमा कुनै अवरोध नगर्न भन्दै अनुमति दिएको हो।

गृहको आदेशपछि पर्यटकहरु रामारोशन भ्रमणमा निस्केका हुन्। गृह मन्त्रालयले अछाम पुगेका पर्यटकलाई रामारोशन प्रवेशमा रोक नलगाउन र संकास्पद काम गर्नेलाई नियन्त्रणमा लिन भनेको छ। देशी पर्यटकको निगरानीका लागि प्रहरीको समूहसमेत रामारोशन क्षेत्रमा खटिएको छ ।

३९ जना रामारोशन क्षेत्रमा पुगेर रोकिएका थिए। २२ जना अछाम प्रवेश गर्ने विभिन्न स्थानमा रोकिएका थिए। गृहको आदेशसँगै पर्यटकहरु रामारोशन क्षेत्रमा प्रवेश गर्न थालेको अछाम प्रहरीले बताएको छ। सामाजिक सञ्जालबाट जोडिएका विभिन्न देशका दुई हजार बढी पर्यटक रामारोशन घुम्न आउन लागेका हुन्। उनीहरु भारत, अमेरिका, क्यानडा, पोल्याण्ड, इटली, रसिया, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मन, थाइल्याण्ड, जापानसहित २५ देशका पर्यटक सो क्षेत्रमा पुगेका छन्। ‘रेन्बो फेमिली’ तथा ‘रेन्बो ग्यादरिङ युनिटी’ नामक नेटवर्कमार्फत विभिन्न देशका नागरिक अछाम पुगेका हुन । अझै कतिपयको आउने क्रम जारी छ भने केही रोकिएका छन् ।

एक सातादेखि अछामका विभिन्न स्थानमा रोकिएका उनीहरू सामाजिक सञ्जालबाट परिचालित ‘रेम्बो फेमिली’, ‘रेन्बो ग्यादरिङ युनिटी इन नेपाल’, ‘वल्र्ड रेन्बो नेपाल–२०२३’ र ‘वल्र्ड रेम्बो फेमिली’ नामक फेसबुक पेजमार्फत गरिएको आह्वानमा नेपाल भित्रिएका हुन् । ती फेसबुक पेजमध्ये रेन्बो फेमिली २०७२ सालदेखि सक्रिय रहेको पाइएको छ ।

विश्वका अन्य स्थानमा भएका यस्तै जमघटका आधारमा प्रतिबन्धित लागुऔषध सेवनदेखि ‘मर्डर’ सम्म हुने खालका जमघट कसको आयोजनामा हुन लागेको हो भन्ने खुलाइएको छैन । सामाजिक सञ्जालबाट पठाइएको निमन्त्रणामा सेप्टेम्बर १५ देखि सुरु हुने जमघटमा सहभागिता जनाउन केही विदेशी नागरिक रामारोशन पुगिसकेका छन् भने पाँच सय जनाभन्दा बढीले कार्यक्रममा सहभागी हुनेबारे सामाजिक सञ्जालमार्फत नै आयोजकलाई जानकारी गराएका छन् ।

विदेशीलाई नेपाल भित्र्याउन सामाजिक सञ्जालमा सक्रिय फेसबुक पेजमा हजारौँ सदस्य छन् । सन् २०१९ मै फेसबुक पेज बनाएर यस्ता क्रियाकलापबारे जानकारी दिने, सोधिएको जिज्ञासाको जवाफ दिनेलगायतका काम हुँदै आएको छ । जनघटका लागि अछामकै युवाहरु खटिएका छन् ।

तीन हजारभन्दा बढी विदेशी नागरिकले १ देखि २ महिनासम्म रामारोशन क्षेत्रमा बस्न चाहेको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। समुद्र सतहबाट करिब २५ सय मिटर उचाइमा रहेको रामारोशन क्षेत्र ‘१२ बण्ड, १८ खण्ड’ का नामले परिचित छ। १२ वटा ताल र १८ वटा घाँसे मैदान रहेको सो क्षेत्र करिब ५–७ किलोमिटर रेडियसमा फैलिएको छ। डेढ किलोमिटर क्षेत्रफलमा फैलिएको जिंगाले ताल छ भने एउटै घाँसेमैदान ७ सय रोपनीमा फैलिएको छ।



प्रतिक्रिया दिनुहोस्