Logo

आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता हुँदै



काठमाडौं, असोज ५ । सरकार र आन्दोलनरत शिक्षकहरूबीच आज औपचारिक वार्ता हुँदैछ। वार्ता बिहान ९ बजेबाट सुरु हुने तयारी छ।

यसअघि बिहीवार बिहान र बेलुका दुई चरणमा अनौपचारिक छलफल भएको थियो। तर, छलफलमा कुनै ठोस सहमति हुन नसकेपछि आज औपचारिक वार्ता हुन लागेको हो।

बिहीवार बिहानको छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा मन्त्री अशोक कुमार राई र शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासङ्घका प्रतिनिधि सहभागी थिए। बिहीवारै बेलुका फेरि गृहमन्त्री श्रेष्ठ, शिक्षामन्त्री राईका साथै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङ सहित ती मन्त्रालयका सचिवहरूसहित शिक्षकका प्रतिनिधिहरूसँग छलफल भएको थियो।

साँझ ७ बजेदेखि सुरु भएको छलफल बेलुका साढे ९ बजेसम्म चलेको थियो। सो छलफलमा शिक्षकका प्रतिनिधिहरूले १७ बुँदे माग प्रस्तुत गरेका थिए। मन्त्रीहरूले कतिपय माग संविधान संशोधन गर्नुपर्ने खालका रहेकाले उक्त मागमा सहमति हुन नसक्ने बताएका थिए।

विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै देशभरका शिक्षकहरू विद्यालय बन्द गरेर असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्।



प्रतिक्रिया दिनुहोस्