काठमाडौं, ७ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार नहुँदा मुलुकमा राष्ट्रिय सहमतिको सरकार बन्न नसकेको आरोप लगाएका छन् ।
‘कुनै पार्टीको एकल बहुमत नआए पनि नेपाली कांग्रेसले बहुमत पाएजस्तो मनोविज्ञान बनायो । शेरबहादुर देउवाले संविधानको धारा ७६(२) अनुसार मिलीजुली बनाउन चाहनुभएन । एकैचोटि ७६(३) को सरकार बनाउन चाहनुभयो । त्यतिबेला नेपाली कांग्रेसले तनाव र निषेधको साटो सहमति र सहकार्यको बाटो अख्तियार गरेको भए मुलुकमा राष्ट्रिय सरकार बन्न सक्थ्यो । नेपाली कांग्रेसको गलत नीतिको सिकार मुलुक भइरहेकै छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
‘प्रचण्डलाई प्रधानमन्त्री बनाएर पछुताएको छैन’
अध्यक्ष ओलीले आफूले पुस १० मा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर नपछुताएको जिकिर गरे । उनले थपे, ‘पुष्पकमल दाहाल बालकोट आएर प्रधानमन्त्रीका लागि सहयोग माग्नुभयो । मैले सहयोग गरें । त्यसको विकल्प पनि थिएन । म काम गर्ने बेलामा विचार गर्छु । पछि पछुताउने कुरा गर्दिनँ । मैले सुशील कोइराला, माधव नेपाल, झलनाथ खनाललाई पनि प्रधानमन्त्री बनाउन मद्दत गरें, त्यो गलत थिएन । प्रचण्डले पाँच दलीय गठबन्धन तोड्नु गलत थिएन, नयाँ गठबन्धन तोड्ने प्रचण्डको कदम चाहिँ गलत हो । अरुको बेइमानीलाई मेरो असफलता भन्नु हुँदैन । कसैले खुकुरी लिएर काठमाडौंमा चार जना मार् यो । त्यो मारिनेको असफलता होइन ।’
एमाले प्रचण्डसँगको सम्बन्ध सुधारेर समीकरण फेर्न भित्रभित्रै जुटेको हो भन्ने धमलाको प्रश्नमा ओलीले तत्काल त्यस्तो कुनै सम्भावना नरहेको बताए । उनले भने, ‘प्रचण्डजी आफू अप्ठ्यारोमा पर्दा कांग्रेसलाई देखाउन या तर्साउनका लागि हामीसँग भेटघाट गर्नुहुन्छ । त्यति हो । यति असान्दर्भिक र यति वजनहीन विषयमा किन चर्चा गर्ने ? राजनीतिमा सधैंभरि जे पनि हुँदैन ।’
‘शेरबहादुरजीलाई भेटौं भनेको मान्नुभएन’
कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डसँग तर्सिरहेको आरोप पनि उनले लगाए । ओलीले भने, ‘शेरबहादुरको अराजनीतिक तरिका हेर्दा कस्तो लाग्छ भने शेरबहादुरजी प्रचण्डसँग निकै त्रसित हुनुहुन्छ । त्यसैले भक्तिभाव गरे जस्तो गरिरहनुभएको छ । प्रमुख पार्टीको दुरुपयोग गरेर मुलुकमा यति निकम्मा सरकार चलिरहेको छ । यो परिस्थितिको कारण कांग्रेसको निकम्मापन हो । जनमत के छ, कसो छ, नेपाली कांग्रेसलाई त्यसको मतलब देखिँदैन ।’
कांग्रेस र एमालेका थुप्रै नेताहरुको दुर्ई प्रमुख पार्टी मिल्नुपर्छ भनिरहेको बेला सहकार्य सम्भव होला भन्ने प्रश्नमा ओलीले भने, ‘हो, त्यस्तो विचार राख्ने धेरै छन् । तर कांग्रेस पार्टीको मूल नेतृत्वको धारणा एमालेलाई सकेसम्म सिध्याउने वा निषेध गर्ने नै छ । दुई वर्षभन्दा बढी समययता शेरबहादुर देउवासँग मेरो कुनै कुराकानी र छलफल भएको छैन । हुलमालमा भेट हुनु बेग्लै हो । कुरा गरौं भनेको थिएँ, मान्नुभएन । भेटौं भनेको थिएँ, त्यो पनि मान्नुभएन । उहाँ मसँग भेट्न डराउनुहुन्छ । कुन शक्तिसँग किन डराउनुभएको हो, मलाई थाहा छैन ।’
नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन लिखित कबुल गर्नुपर्ने पनि ओलीले औंल्याए । उनले भने, ‘नेपाली कांग्रेससँग कुनै पनि राजनीतिक शक्तिले गिडगिडाउने कुरा आउँदैन । दलीय विचार र हैसियत पनि हेर्नुपर्छ । अब नेतृत्व लिने हो भने कांग्रेसले राष्ट्रिय स्वाधीनता, सार्वाभौमिक सत्ता विपरीतको काम गर्दिनँ, विकास र सुशासनको पक्षमा लिखित कबुल गर्नुपर्छ ।’
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमाले तयार भएको हो भन्ने प्रश्नमा उनले भने, ‘अहिले व्यक्तिको कुरा नभनौं, एकल सरकार कसैको बन्दैन । केही व्यक्तिबाट देशलाई काफी अनुभव भइसकेको छ । जो पनि प्रधानमन्त्री बन्न सक्छ र हामी समर्थन गर्छौं भन्ने कुरा होइन ।’
‘झिल्केमिल्के पार्टी संसद्मा बोल्न पाएनौं भनेर कराए’
एक क्लिन्टल सुन तस्करीमा सरकार ढाकछोप र लुकाउन लागेपछि एमालले छानबिनको माग गर्दा झिल्केमिल्के पार्टीले संसद्मा बोल्न पाएनौं भनेर कराएको भन्दै ओलीले व्यंग्य गरे । उनको स्पष्ट संकेत राष्ट्रिय स्वतन्त्र पार्टीप्रति थियो । उनले एमालेसँग गरेको सहमति बमोजिम सरकारले सुनकाण्डको न्यायिक छानबिन समिति नबनाएको आरोप पनि लगाए । उनले भने, ‘सरकारले फेरि बेइमानी गर् यो । छानबिन गर्दा सरकारलाई नै अप्ठ्यारो पर्ने भो । गठबन्धन र सत्ताधारीलाई अप्ठ्यारो पर्ने भयो । हलो अड्किएको होइन, कामै अड्कियो । भ्रष्टाचारविरोधी अभियान नै अड्कियो । माननीय गृहमन्त्री किन थुरथुर हुनुभएको छ ? माओवादीलाई यस्ता कुरा मामुली लाग्छ, तर देशले मामुली ठान्नुहुन्न ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा निलम्बित एमालेका सचिव टोपबहादुर रायमाझी दोषी नभएको ओलीले बताए । उनले भने, ‘टोपबहादुरजी कहाँनेर फस्नुभयो ? हेलिकप्टरमा चढेको फोटो खिचेको भरमा ? मसँग दिनमा दुई सय जनाले फोटो खिच्छन् । फोटोको भरमा कसैले गौदान गरे मैले पुण्य पाउने ? उसले अपयश गर् यो भने मेरो पाप हुने ? माओवादीले हिजो पार्टी छाडेको प्रतिशोध लिन त्यो गरेको हो । साढे नौ किलो सुनमा २५२ पटक फोन गर्ने नसमातिने ? गृहमन्त्रीको राजीनामा माग गर्दा सर्टिफिकेट खोज्ने ? मेरो त सर्टिफिकेट पनि छैन । अब मेरो पनि खोज्ने हो कि नारायणकाजीजी ?’
‘प्रचण्डको आपराधिक मानसिकताको उपज’
कानुन न्याय दिने माध्यम हुनुपर्नेमा भनेको प्रतिशोध साँध्ने मेलो बनेको आरोप पनि ओलीले लगाए । उनले भने, ‘नारायणकाजीले कुनै कोट पनि छाडिँदैन भनेर लफ्फाजी हाँक्ने ? यती, ओम्नी, गिरीबन्धु भनेर प्रचण्ड, नारायणकाजीले मलाई मुछ्नै खोजेको हो । उद्देश्यमूलक ढंगले बदनाम गर्न खोजेकै हो नि । गिरीबन्धु टी स्टेट भन्ने बित्तिकै मेरो घाँटीमा तरबार हुन्छ ? मैले त छानबिन गर भनिरहेकै छु त । उहाँहरुले बिना कानुन एकपटक १९ बिघा, अर्को पटक ५१ बिघा कमिसन खाएर बेच्नुभयो । मैले कानुन बनाएपछि उहाँहरुको टाउको दुख्यो । यो प्रचण्डको आपराधिक मानसिकताको उपज हो । नेता, सांसद, पत्रकार सबैलाई उहाँ आफैंले भन्न लगाएको हो । त्यो कानुनको कार्यान्वयन हुनुपर्छ ।’
एमाले अध्यक्ष ओलीले सरकारले साम्प्रदायिक हिंसालाई प्रोत्साहित गरेको पनि बताए । उनले भने, ‘यो त राख्न मिल्ने सरकार नै होइन । असफलता, बेइमानी ढाँटछलको नीतिका कारण कुनै पनि हिसाबले यो सरकारलाई राख्न मिल्ने स्थिति नै छैन । नेपाली कांग्रेसलाई सराप परेको छ कि के छ ? मैले बुझेको छैन । म सरकार ढाल्ने मुडमा छैन । तर मुलुकलाई सरकारविहीन अवस्थामा राख्न पनि दिनुहुँदैन ।’
नेकपा माओवादी केन्द्रमा चाँडै विष्फोट हुने दाबी पनि उनले गरे । ओलीले थपे, ‘अहिले माओवादी नै प्रचण्ड हो, प्रचण्ड नै माओवादी हो भन्ने छ । त्यहाँ आँखा झुकाएर टाउको झुकाएर पनि बोल्न सक्ने स्थिति छैन । माओवादीमा व्यापक असन्तुष्टि छ । उकुसमुकुस छ, कुनै समय विष्फोट हुन्छ ।’ आफू प्रचण्डलाई साथ दिने पक्षमा नरहेको पनि उनले स्पष्ट पारे । कम्युनिस्ट एकताको कुरा गरेर समय खेर नफाल्ने पनि उनले बताए ।
‘एकीकृत समाजवादीमा एक-दुईजनामात्र रहन्छन्’
नेकपा एकीकृत समाजवादीमा केही नेताबाहेक सबै एमालेमा फर्कने दाबी पनि अध्यक्ष ओलीले गरे । उनले थपे, ‘पानी हालेर मुछेको खरानीमा घन हान्नु मूर्खता हुन्छ । रियाक्सनरीहरुको पुच्छर पार्टी फुटाउन हामी किन लाग्ने ? त्यो पार्टी नै बनेको छैन । अर्काको बुइ चढेर १० सिट आएको हो । आउँदो चुनावसम्म कुन मूर्ख त्यो पार्टीमा बस्छ ? माथि एकदुई जना बस्न सक्छन् । माधवकुमार नेपालहरुले विद्रोह गरेको होइन, बेइमानी गरेको हो । प्रतिक्रियावादी शक्तिसित साँठगाँठ गरेको हो ।’
आफूले एमालेको कार्यक्रममा झलनाथ खनाललाई बोलाउँदा नै नेकपा एकीकृत समाजवादीमा पहिरो गएको दाबी पनि ओलीले गरे । उनले भने, ‘त्यो पार्टीमा कति एकता छ भन्ने नेताहरुको सार्वजनिक अभिव्यक्तिबाट सबैले बुझेकै छन् । मैले ‘संविधान र सुवास’ कार्यक्रममा झलनाथ खनाललाई बोलाउँदा माधव नेपाललाई टाउको दुखिसक्यो । झलनाथलाई सुवासचन्द्र नेम्वाङकै इलाम जिल्लाको, सहपाठी र एउटै पार्टीमा लामो समय काम गरेको हुनाले बोलाएँ । माधव नेपालले चिन्नेभन्दा अघि बालसखाको रुपमा चिनेको नेता हो झलनाथ । माधव नेपाललाई सुवास नेम्वाङ के थाहा छ र ?’
वामदेव गौतम र भीम रावललाई पार्टीमा जिम्मेवारी दिन तयार हुनुहुन्छ भन्ने प्रश्नमा ओलीले भने, ‘जो काम गर्छ, उसलाई एमालेले यथोचित् जिम्मेवारी दिन्छ । तर पानी मथेर घिउ लाग्दैन । अब समुद्र मन्थन गरिरहनुपर्दैन । अनावश्यक चर्चामा समय खर्च नगरौं ।’
‘म फेरि अध्यक्ष बन्दा के फरक पर्छ र !’
उनले आफू फेरि एमालेको अध्यक्ष बन्ने संकेत पनि गरे । ओलीले भने, ‘यो मेरो रुचिको विषयभन्दा पनि पार्टीको आवश्यकताको कुरा हो । मैले ५८ वर्षदेखि देश र जनताका निम्ति निष्ठापूर्वक काम गरेको छु । ज्येष्ठ नागरिक, युवापंक्ति, किशोरकिशोरी र बालबालिकालाई म औधि माया गर्छु । तिनको भलाईका लागि काम गर्छु । जरुरी पर् यो भने म फेरि अध्यक्ष बन्दा के फरक पर्छ र ! म चोचोमोचो मिलाएर बाँडेर खान राजनीतिमा लागेको हो र ! १४ वर्ष जेल बसेको हो र ! जिन्दगी भनेको उद्देश्य हो । जिन्दगी भनेको गौरवपूर्ण बचाइ हुनुपर्छ ।’
प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा चिनियाँलाई ढाँटेर आउने दाबी पनि उनले गरे । ओलीले थपे, ‘उहाँ अस्ति भारत गएर भारतीयलाई ढाँटेर आउनुभयो । अमेरिका जाँदा अमेरिकीलाई ढाँटेर चीन पुग्नुभएको छ । त्यहाँ पनि चिनियाँलाई ढाँटेर आउनुहुन्छ ।’ विदेशी सहयोग, अनुदान र ऋण राष्ट्रिय हित, आवश्यकता र प्राथमिकताका आधारमा लिनुपर्ने पनि उनले औंल्याए ।