Logo

८४ वर्षका श्रीधरलालसहित एनएफपीजेले गर्यो चार फोटो पत्रकारलाई ‘वरिष्ठ फाेटाे पत्रकारिता सम्मान’



काठमाडौं, ७ असोज । वरिष्ठ फोटोग्राफर श्रीधरलाल मानन्धर सम्मानित भएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आफ्नो २६औँ वार्षिक साधारणसभाको अवसरमा ८४ वर्षे मानन्धरलाई ‘वरिष्ठ फोटो पत्रकार’का रूपमा सम्मान गरेको हो ।

काठमाडौंको तीनकुनेमा शनिबार साँझ आयोजित कार्यक्रमममा वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले दोसल्ला ओढाएर फोटोग्राफर मानन्धरलाई सम्मान गरे । १० वर्षको उमेरमै क्यामेरा भिरेका मानन्धरले झण्डै सात दशक फोटो खिचेका थिए ।


‘वरिष्ठ फोटो पत्रकार’का रूपमा सम्मान पत्र लिंदै श्रीधरलाल मानन्धर

मानन्धरले २००७ सालदेखि २०७० सम्म फोटोग्राफी गरेका थिए । कला, संस्कृति, खेल, व्यापारिकदेखि प्रेस फोटोग्राफीसम्ममा उनको लामो अनुभव छ । यस अवधिमा उनले नेपाली फोटोकारितामा नयाँ आयामहरू भित्र्याएका वरिष्ठ फाेटाे पत्रकार विकास राैनियार बताउँछन् । उनका अनुसार, १९७० को दशकमा नेपालमा रंगीन फोटो खिच्ने व्यक्ति श्रीधरलाल नै थिए । १० वर्षअघि प्यारालाइसिस भएपछि उनी चाहेर पनि क्यामेरा चलाउन नसक्ने भएका छन् । एनएफपीजेको सम्मान ग्रहण गर्न उनी आफ्ना नातीको सहयोगमा कार्यक्रम स्थलमा पुगेका थिए ।

यसैगरी, राम गुरुङ, शेखर चौलागाईं र प्रविन श्रेष्ठ पनि एनएफपीजे ‘वरिष्ठ फोटो पत्रकार सम्मान’बाट सम्मानित भए । उनीहरूलाई वन तथा वातावरणमन्त्री महतोले दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरेका थिए ।


‘वरिष्ठ फोटो पत्रकार’का रूपमा सम्मान पत्र लिदै राम गुरुङ

कार्यक्रमका प्रमुख अतिथि मन्त्री महतोले फोटोकारितामार्फत नेपालको सर्वपक्षीय प्रचार र खबरदारी गर्ने फोटो पत्रकारहरूलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताए । विशिष्ट अतिथिका रूपमा पुगेका सांसद रामहरि खतिवडाले नेताको घण्टौं लामो भाषणभन्दा फोटो पत्रकारको एउटै फोटोले सशक्त कथा भन्ने बताए ।


‘वरिष्ठ फोटो पत्रकार’का रूपमा सम्मान पत्र लिदै प्रविन श्रेष्ठ

एनएफपीजेका वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रमका सभापति सुशील श्रेष्ठले फोटोग्राफीका हस्तीहरूलाई सम्मान र अनुजहरूलाई प्रोत्साहन गर्दै जाने नीति संस्थाको रहेको बताए । कार्यबाहक महासचिव घनश्याम श्रेष्ठले अहिलेसम्म संस्थाले गरेका कामको समीक्षासँगै आगामी योजनाबारे प्रकाश पारे भने कोषाध्यक्ष सागर श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।


‘वरिष्ठ फोटो पत्रकार’का रूपमा सम्मान पत्र लिदै शेखर चौलागाईं

News & Photos Source: NFPJ



प्रतिक्रिया दिनुहोस्