Logo

चाडपर्वलक्षित सुपथ पसल असोज तेस्रो सातादेखि



काठमाडौं, असोज ८। सरकारले चाडपर्वलाई लक्षित गरेर असोजको तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्ने भएको छ ।

दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले तेस्रो सातादेखि सुुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उनले बताए ।

चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्ता ठगिन सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गरिने उनको भनाइ छ । मन्त्रालयले आइतबार सरोकारवाला निकायसँग छलफल गरेर खाद्यान्नको मौज्दातको अवस्थाको बारेमा जानकारी लिएको छ ।

मन्त्रालयले आइतबार सुपथ मूल्य पसल राख्ने विषयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट्र टे«डिङ कर्पोरेसनका प्रतिनिधिलाई बोलाएर खाद्यान्न मौज्दातको अवस्थाको के छ भनेर जानकारी लिएको जनाएको छ ।

गत वर्षसरह यस वर्ष पनि खाद्यान्नमा छुट दिइने मन्त्रालयले जनाएको छ । नुन प्रतिकेजीमा दुई रुपियाँ, चिनी प्रतिकेजीमा पाँच रुपियाँ र चामल प्रतिकेजीमा पाँच देखि १० रुपियाँसम्म छुट दिने गरी तयारी गरिएको मन्त्रालयले जनाएको छ । यस्तै खसीबोका प्रतिकेजीमा १० रुपियाँ छुट दिइने भएको छ ।

चाडपर्वमा उपभोक्तालाई सहुलियत दिन उपत्यकासँगै बाहिरी जिल्लाहरूमा सुपथ पसल सञ्चालन गरिने छ ।



प्रतिक्रिया दिनुहोस्