Logo

शिक्षक महासंघलाई बिचौलिया राखियो भने वार्तामा बस्दैनौं : राहत शिक्षक



काठमाडौं, १० असोज । नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले सरकारसँगको वार्तामा नेपाल शिक्षक महासंघ बिचौलियाको भूमिकामा आउन खोजेको आरोप लगाएका छन् ।
‘शिक्षकहरुको आन्दोलनका कारण नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको अगुवाइमा हिजो ल्होत्से हलमा बृहत् अन्तर्क्रिया भयो । शिक्षकहरुको माग र मुद्दा सम्बोधन गर्नुपर्छ भनेर पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कालाई निर्देशन दिएपछि नेपाल शिक्षक महासंघका केही व्यक्तिहरु हाम्रो अस्तित्व जोगाइदिनुपर् यो भन्दै रोइकराई गरिरहेका छन्,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने, ‘राहत, उच्च मावि, विद्यालय कर्मचारी, बहिरा, अपांग गरी ६ वटा शिक्षक कर्मचारी समूहको मोर्चाको संयोजक म हुँ । यसमा महासंघले विगतमा अनमिनले जस्तै बिचौलियाको खेल खेल्न खोज्यो । महासंघलाई राखियो भने हामी सरकारसँग वार्ता गर्दैनौं ।’
शिक्षक महासंघले दुईतीन जना शिक्षकको विशिष्ट श्रेणीमा कुरा मिलेपछि डेढ लाख शिक्षकको माग र मुद्दा छाडिदिएको आरोप पनि अधिकारीले लगाए । उनले थपे, ‘हाम्रा कारण दोस्रो जनआन्दोलनपछिको जनसागर राजधानीको सडकमा देखियो । तर नेपाल शिक्षक महासंघले सरकारसँग जसरी डाइलग गर्नुपथ्र्यो, त्यसमा चुक्यो । विशिष्ट श्रेणीमा दुईतीन जनाको शिक्षकको कुरा मिलेपछि तमाम डेढ लाख शिक्षकको माग मुद्दालाई बेवास्ता गर् यो । हतारहतार सम्झौता गर् यो । कम्तीमा हामीसँग छलफल हुनुपथ्र्यो । आफू अडानमा नबस्ने, नेतृत्व लिन नसक्ने, समन्वय गर्न नसक्ने अनि अहिले आएर बिचौलिया बन्न खोज्ने ? उहाँहरु सडकमा भए पनि वार्ता त हामीसँगै गर्नुपर्छ भन्ने ? पेट दुखेको हामीलाई, औषधि नेपाल शिक्षक महासंघले किन खानुपर्ने ?’ आफूहरु माग र मुद्दा पूरा नहुन्जेल संयुक्त मोर्चा बनाएर सडक आन्दोलनमा बस्ने पनि अधिकारीले बताए ।



प्रतिक्रिया दिनुहोस्