Logo

अभियन्ता ईः को जीवन रक्षाको पहल गर: मानव अधिकार आयोग



काठमाडौं,१० असोज । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाविरुद्ध उभिएर धर्ना दिँदै आएका अभियन्ता ‘ई’को जीवन रक्षाका लागि पहल गर्न र साना सडक व्यवसायीहरुलाई वैकल्पिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले आफ्नो स्वास्थ्य र जीवनै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रदर्शनका अन्य विकल्प खोज्न अभियन्ता ‘ई’लाई आग्रह पनि गरेको छ ।

आयोगका सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले मंगलबार स्थलगत अनुगमन गरेपछि बुधबार आयोगले विज्ञप्ति जारी गर्दै अभियन्ता ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न र वार्तामार्फत यथाधीघ्र समस्याको निकास निकाल्न सुझाव दिएको हो ।

‘रातिको १२ बजेदेखि ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, विगत ८ दिनदेखि उभिएर धर्ना गरिरहेका ईः का दुवै खुट्टा अस्वाभाविक रुपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम असोज ८ गतेदेखि औषधि सेवन गरिरहेको लगायतका जानकारीहरु अनुगमनबाट पाइएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘अतः धर्नामा रहेका व्यक्ति ‘ईः’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरुको पहिचान गरी उनीहरुलाई पेसा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौँ महानगरपालिको ध्यानाकर्षण गराउँदछ,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महानगरका मेयर बालेन शाहविरुद्ध जवाफदेहितको माग गर्दै अभियन्ता ईः ९ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिईरहेका छन् । उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । अभियन्ता ईः र महानगरबीच मंगलबार वार्ताको प्रयास भएको थियो । तर, दुई पक्षबीचमका सहमति नभएपछि वार्ता निष्कर्षविहीन बनेको थियो ।



प्रतिक्रिया दिनुहोस्