Logo

डाक्टरहरूलाई एक दिन पनि सडकमा राख्नु हुँदैन : डा. भोला रिजाल



काठमाडौं, ११ असोज । डा. भोला रिजालले देशभरि डाक्टरहरुमाथि आक्रमणका घटना भइरहनु निन्दनीय भएको बताएका छन् । अब टालटुलेभन्दा दीर्घकालीन समाधान खोज्नुपर्ने पनि उनले औंल्याए ।
‘अस्पतालमा सेवा नपाएर आक्रोशमा अट्याक हुनु त छँदै छ । २०४६ सालको दरबन्दी अहिलेसम्म बढेको छैन । दुई जनाले १८ जनाको काम गरिरहेका छन् । एक जनाले दुई सय बिरामी हेर्नुपर्छ । डाक्टरहरुले कोभिडमा पनि कुटाई खाए । कर्फ्युमा पनि कुटाई खाए । वर्षमै डाक्टरमाथि १०–१२ वटा कुटपिटका घटना भएका छन् । अत्यावश्कीय सेवा दिनुपर्ने डाक्टरमाथि कार्यस्थलमै आक्रमण हुनु निन्दनीय छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग डा. रिजालले भने ।
स्वास्थ्यकर्मी आन्दोलित हुनुको कारण खोतलेर सम्पूर्ण समाधान दिनुपर्ने उनले बताए । डा. रिजालले भने, ‘स्वास्थ्य क्षेत्रमा के के कठिनाइ छन् ? डाक्टरहरु किन नेपालमा अडिँदैनन् ? किन विदेश नै जान चाहन्छन् ? अडिएकाहरु पनि किन पेशागत रुपमा सेक्युर छैनन् ? आफ्नो दक्षतामा किन देखाउन सकेका छैनन् ? यसका कारण खोतलेर अब टालटुले होइन दीर्घकालीन समाधान होस् । हामीले जे गरे पनि हुन्छ, राज्य छ, पार्टी छ भनेर छुट पाउने ? डाक्टर वा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु अपराध हो, फौजदारी अभियोग हो भनेर सरकारले किन सुसूचित गर्न सकेको छैन ?’
सरकारले डाक्टरहरुलाई एक दिन पनि सडकमा राख्न नमिल्ने उनले बताए । डा. रिजालले भने, ‘चिकित्सकहरु सडकमा आउनु ठीक छैन । उनीहरुलाई सडकमा एक दिन पनि राख्नु हुँदैन । सडकमा जानुपर्ने बाध्यता निर्मूल गर्नैपर्छ । उनीहरुलाई चाँडोभन्दा चाँडो काममा फर्काउनैपर्छ । यसमा उनीहरुको के दोष ? चिकित्सक बिचरोको हातमा के हुन्छ ?’
समग्र स्वास्थ्य क्षेत्र अपहेलित रहेको पनि डा. रिजालले बताए । उनले भने, ‘अहिले मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री हुनुहुन्छ । उहाँ पहिले पनि स्वास्थ्य राज्यमन्त्री हुनुहुन्थ्यो । अनुभवी भएर पनि काम गर्न सक्ने स्थिति छैन । स्वास्थ्य क्षेत्रमा जम्मा ४ प्रतिशत बजेट छुट्याएर कसरी सुधार हुन सक्छ ? कृषि, स्वास्थ्य र शिक्षामा २०– २० प्रतिशत बजेट किन राख्न सक्दैनौ ? एकथरी वरिष्ठ नर्सिङ, चिकित्सक, पोस्ट ग्य्राजुएट चाहिँदैन भनिदिन्छन् । देशका ९७ कलेज बन्द भए । हाम्रा विद्यार्थीहरु विदेशीले खोलेका २०० कलेजमा पढ्न बाध्य छन् ।’



प्रतिक्रिया दिनुहोस्