Logo

‘सरकार कसै-कसैलाई भ्रष्टाचार काण्डमा समाउनु पर्ला कि भनेर डराइरहेको छ’



काठमाडौं, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद हरि ढकालले जघन्य अपराधमा जेल भुक्तानी नहुँदै आम माफी दिनु राष्ट्रपति रामचन्द्र पौडेलको गलत कदम भएको टिप्पणी गरेका छन् ।
‘गणतन्त्र र लोकतन्त्रको सर्वोच्च संस्था राष्ट्रपतिले जघन्य अपराधमा जेल भुक्तानी नहुँदै आम माफी दिनु यो बेठीक भयो । यो गलत नजिर हो । पार्टीगत पहुँच र सिफारिसका आधारमा यसैगरी अपराधमा जोडिएका मानिसहरुलाई विभिन्न दिवस पारेर उन्मुक्ति दिने हो भने जेल त खाली हुन्छ । सरकारले पठाएको जस्तो निर्णय पनि सदर गर्दैै जाने हो भने व्यवस्थाप्रति नै आम नागरिकको भरोसा टुट्छ । यसमा उहाँले विवेक प्रयोग गर्न सक्नुभएन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
भ्रष्टाचारका काण्डमा सरकारले देखाउनका लागि मात्र काम गरेको आरोप पनि सांसद ढकालले लगाए । उनले भने,’ हाम्रो पार्टी स्थापना नै भ्रष्टाचार विरुद्ध र सुशासन प्रवर्द्धनका लागि भएको हो । सरकारले केही गरेको छु भन्ने देखाउनका लागि मात्र काण्डहरुको छानबिन गरेको हो । त्यसको जरासम्म पुगेर ठोस निष्कर्षमा पुग्ने देखिएन । सरकार कसैलाई समाएको जस्तो गर्ने, कसैलाई समाऊँ कि जस्तो गर्ने र कसै-कसैलाई भ्रष्टाचार काण्डमा समाउनु पर्ला कि भनेर डराइरहेको छ ।’
साथै उनले भ्रष्टाचारको छानबिनमा पनि लेनदेन भएको आरोप लगाए । ढकालले थपे, ‘उसले उसलाई जोगाउने, उसलाई उसले जोगाउने गरी भ्रष्टाचार काण्डको छानबिनमा लेनदेन भइरहेको छ । हामीले राम्रो कामलाई साथ दिने भनेकै हो । तर गृहमन्त्रीले गर्न सक्नुभएन वा घेराबन्दीमा पर्नुभयो । तर हामी यी काण्डहरुलाई सेलाउन दिने पक्षमा छैनौं ।’
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार आफ्नै कारणले ढल्ने दाबी पनि ढकालले गरे । उनले भने, ‘यो सरकार आफ्नै किचलोले आफैं ढल्छ । हामीले केही गर्नै पर्दैन । हिजोको इतिहास पनि नौ–दस महिना सरकार चलाएपछि अर्कोलाई पालो चाहिने खालको छ । त्यो प्रदूषित राजनीतिक मनोविज्ञान अहिले पनि छ । तर त्यो खेलोमेलोमा हामी छैनौं ।’



प्रतिक्रिया दिनुहोस्