Logo

‘प्रधानमन्त्री १५ दिन विदेश घुमे भनेर हामी खुशी हुनुपर्ने के छ र ?’



काठमाडौं, १३ असोज । अर्थविद् डा. चन्द्रमणि अधिकारीले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण घडीमा रहेको टिप्पणी गरेका छन् ।
‘अर्थतन्त्रको बाह्य सूचकमा केही सुधार छ । तर अर्थतन्त्रको आँत चाहिँ कमजोर नै छ । मध्यम वर्ग र तल्लो वर्गको क्रयशक्ति घटेर गएको छ । खर्च गर्न चाहने उमेरका हिसाबले युवा र मध्यमवर्गको हातमा पैसा छैन । धनीवर्गले भएको पैसा पनि खर्च गरेको छैन । भोलि के होला भनेर असुरक्षित ठानिरहेको छ । अलि धनीको हातमा गएर पैसा फिक्ड डिपोटिज भएर बसेको छ । उत्पादन, लगानी, रोजगारीको अवस्था हेर्दा अर्थतन्त्र चुनौतीपूर्ण घडीमा छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
डा. अधिकारीले सरकारले आम जनतालाई सकारातमक अनुभूति दिलाउन नसकेको आरोप पनि लगाए । उनले भने, ‘यो व्यवस्था सत्तामा बस्नेलाई लाभ दिन ल्याएको होइन । यसको माध्यमबाट आम जनतालाई सकारात्मक अनुभूति दिलाउन पो ल्याएको हो । अर्थतन्त्र गम्भीर मोडमा रहेका बेला जानेर नजानेर सरकार गम्भीर भएको छैन । नेपाल सरकार, अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंक बसेर जनतालाई लाभ दिने कुरामा छलफल नहुनु दुःखद हो ।’
मुलुक अस्तव्यस्त भएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेश शयरमा मस्त भएको आरोप पनि अर्थविद् अधिकारीले लगाए । उनले भने, ‘मुलुकको शिक्षा, स्वास्थ्य, कृषि, सहकारी, शान्ति सुरक्षाको क्षेत्र समस्यामा छ । तर प्रधानमन्त्री १५–१५ दिन देशबाहिर रहनु कति उपयुक्त हुन्छ ?’
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणलाई सफल असफल भन्नु भन्दा पनि परिणाममा हेर्नुपर्ने उनको भनाइ छ । डा. अधिकारीले भने, ‘यो भ्रमण सफल भयो कि भएन, म दुई वर्षमात्र भन्न सक्छु । आजभन्दा अघिका सम्झौता समेत अहिलेसम्म हाम्रो पक्षमा कार्यान्वयन भएका छैनन् । कोही विदेश गयो भनेर हामी खुशी हुनुपर्ने के छ र ?’



प्रतिक्रिया दिनुहोस्