काठमाडौं,१४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको पशुपतिनाथमा लगाईएको सुनको जलहरी राख्ने क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन सदस्यसचिव डा.प्रदीपकुमार ढकाल र हालका सदस्यसचिव मिलनकुमार थापासहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।
अख्तियारले आज तत्कालीन सदस्यसचिव ढकाल, हालका सदस्यसचिव एवं तत्कालीन कोषाध्यक्ष थापा र स्टोकिपर अरुणकुमार श्रेष्ठसमेत विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
आयोगले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको हो । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
आयोगले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको हो ।
अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रअनुसार तत्कालीन सदस्यसचिव ढकाल र हालका सदस्यसचिव थापाले मिलोमतोमा १ किलो ४९१.७१८ ग्राम सुनको ठाउँमा चाँदी र तामा मिसाएर हिनामिना गरेको अख्तियारले दाबी गरेको छ ।
अख्तियारले अदालतमा दायर गरेको आरोप पत्रमा भनिएको छ ‘बदनियत, लापरवाही तरिकाले आफुलाई दिएको जिम्मेवारीलाई बेवास्ता गरी जलहरीमा प्रयोग भएको चाँदी तथा तामा परिमाणमा फरक पारी सुनको परिमाण १४९१.७१८ ग्राम कम गरी चादी र तामाको परिमाणमा क्रमशः १०४१ ग्राम तथा ७३२.६२ ग्राम बृद्ध गरी सुनको हिनामिना गर्ने कार्यमा संलग्न रहेको देखिएको हुँदा निज प्रतिवादी बिशेट नाईके अरुण कुमार श्रेष्ठले बदनियतपूर्ण कार्य तथा लापरबाही तरिकाले सुनको जलहरी निर्माणको कार्य गरेको देखिएको हुँदा निज प्रतिवादी अरुण कुमार श्रेष्ठले सुनको जलहरी निर्माणका क्रममा नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको १०३,७७३.१ ग्राम सुनको शुद्ध सुन ( pure gold) १०२६१४.० ग्राम देखिन आएको, सुनको जलहरी निर्माणमा प्रयोग भएको चाँदी, तामासमेत मिसावट गरी हुन आउने १०६,४३२.५ ग्राम सुनको शुद्ध सुन ( pure gold ) १०००८५.९ ग्राम र रुद्रगाडेश्वरमा बाँकी रहेको चाँदी, तामासमेत मिसावट गरी हुन आउने १०३७.५ ग्राम सुनको शुद्ध सुन (pure gold ) ९६२.६ ग्राम समेत गरी जम्मा तौल सुन १०७,४७०.० ग्राममा शुद्व सुन ( pure gold ) १०१,०४८.५ ग्राम मात्र रहेको देखिन आएबाट नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको १०३,७७३.१ ग्राम सुनको शुद्ध सुन ( pure gold ) १०२६१४.० ग्रामबाट सुनको जलहरी निर्माणमा प्रयोग भएको सुन तथा निर्माणका क्रममा रुद्रगाडेश्वरमा बाँकी रहेको सुनसमेत शुद्व सुन pure gold १०१, ०४८.५ ग्राम सुन घटाउँदा १५६५.६ ग्राम सुनको परिमाणमा अन्तर (फरक) देखिएकोले उक्त अन्तर देखिएकोमा नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याएको जर्ती मापदण्ड अनुसार हुने ०.०७२% ले हुन आउने ७३.८८२०८ ग्राम सुन घटाउँदा बाँकी हुन आउने १४९१.७१८ ग्राम (एक किलो चार सय एकान्नब्बे ग्राम सात सय अठार मिलिग्राम) सुन निज विशेट नाईके अरुण कुमार श्रेष्ठसमेत संलग्न भई हिनामिना गरेको देखिएकोले निज प्रतिबादीले सुनको जलहरी निर्माणका क्रममा नेपाल राष्ट्र बैंकबाट मिति २०७७/१०/२९ गते खरिद गरेको ६४१६३.४०० ग्राम सुनको दररेटलाई कायम गरी सो दिनको प्रतिग्रामको रु.७८४४.५० (सात हजार आठ सय चौवालिस रुपैया पचास पैसा) को दरले १४९१.७१८ ग्राम (एक किलो चार सय एकानव्वे ग्राम सात सय अठार मिलिग्राम) सुनको पर्न आउने मुल्य रु.१,१७,०१,७८१.८५ (एक करोड सत्र लाख एक हजार सात सय एकासी रुपैया पचासी पैसा) बराबरको सार्बजनिक संस्थाको सम्पत्ति सुनमा बदनियत गरी हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरेको देखिएकोले निज प्रतिवादी बिशेट नाईके अरुण कुमार श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले निज बिशेट नाईके अरुण कुमार श्रेष्ठलाई बिगो रु.१,१७,०१,७८१.८५ (एक करोड सत्र लाख एक हजार सात सय एकासी रुपैया पचासी पैसा) कायम गरी निज बिशेट नाईके अरुण कुमार श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देष गरे बमोजिम ऐ. ऐ. ऐनको दफा ३ को उपदफा (१) को (झ) बमोजिम कैद र ऐ.ऐ. ऐनको दफा ३ (१) बमोजिम बिगो बमोजिम जरिवाना हुन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम निजबाट बिगो रकम समेत असुल उपर गरी पाउन मागदाबी लिई आज आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।’