Logo

मनसुन बाहिरिन अझै एक साता लाग्ने, यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौं, असोज १५। नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोवर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको छ । अन्तिम अवस्थामा मनसुन फेरि सक्रिय भएकोले बाहिरिने मिति टाढिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन बाहिरिने दिन नजिकिँदै गर्दा शनिबार रातिदेखि देशव्यापी बदली सुरु भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले जारी गरेको साताव्यापी मौसमको बुलेटिनले पनि अझै एक साता धेरै क्षेत्रमा वर्षा हुने देखाएको छ । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले पनि मनसुन ढिला बाहिरिने भएको हो ।

महाशाखाका अनुसार बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना कायमै रहँदा नेपालमा मनसुन फेरि सक्रिय बनेको हो । जसले देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना छ । जसले पहाडी भूभागमा पहिरोको जोखिम रहेको, ठुला तथा साना नदीनाला र खोलामा जल सतह केही बढ्न सक्ने, दैनिक जनजीवन तथा सडक, हवाई यातायातसमेत प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन भनिएको छ । त्यस्तै खेतीबाली भित्र्याउने बेला पनि भएकाले केही दिनका लागि नभित्र्याउन र खेतबारीमा जमेका पानी हटाउने उपाय अवलम्बन गर्न भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्