काठमाडौं,१५ असोज । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नो पार्टीले ऐतिहासिकरुपमा ६७४३ वटै वडाको एकै पटक अधिवेशन गरेर नमूना काम गरेको दाबी गरेका छन् ।
आजबाट सुरु भएको एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले माधव नेपाल र झलनाथ खनालले गर्न नसकेको काम एमालेको नेतृत्वमा केपी ओली आएपछि गर्न सम्भव भएको बताए । उनले अबको १० वर्ष एमालेमा ओलीको विकल्प नभएकोसमेत जिकिर गरे ।
‘कम्तिमा अबको १० वर्षसम्म केपी ओलीको विकल्प छैन। केपी ओली भएन भने राष्ट्रिय स्वाधिनताको यात्रा बिथोलिन सक्छ,’ एमाले गण्डकीको प्रथम अधिवेशनलाई संवोधन गर्दै उनले भने, ‘कुनै जंगलमा दुईवटा सिंह हुँदैन। कि हारेर बस्छ, कि हिजोजस्तो वामदेव र माधव नेपालजस्तो। कहिले सीपी र झलनाथजस्तो झगडा, कहिले माधव र केपी ओलीजस्तो झगडा छैन। ६७४३ वडामा एकैदिन अधिवेशन ग¥यौं। त्यही माधव नेपाल भएको भए ७५३ पालिकामा एकैदिन अधिवेशन हुँदैनथ्यो। यो अभूतपूर्व सफलता पार्टीभित्र एकल नेतृत्व भएकाले सम्भव भएको हो।’