Logo

एमाले गण्डकीको अधिवेशनमा गएनन् केपी ओली



काठमाडौं,१५ असोज । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ । पोखरास्थित अमरसिंह चोकमा महासचिव शंकर पोखरेलले अधिवेशनको उद्घाटन गरेका हुन् ।

गण्डकी प्रदेश अधिवेशनमा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएका छन् । सोमबार बिहानभर पोखरामा वर्षा भएपछि नआएका अध्यक्ष ओलीले मौसम खुले पनि अन्तिममा नआउने निधो गरेका हुन् । अध्यक्ष ओलीले किन नआउने निर्णय गरे भन्नेबारे भने खुलिसकेको छैन् ।

ओली आफैँले सोमबार बिहान फेसबुकमार्फत आफू पोखरा आउन लागेको जानकारी दिएका थिए । उनी बिहान ११ बजे आएर दिउँसो ३ बजे फर्कने तयारी थियो । तर, बिहानभर वर्षा हुँदा उनी आएनन् । दिउँसो साढे ३ बजे पोखराको मौसम खुलेपछि महासचिव शंकर पोखरेल पोखरा आएका छन् । मौसम १ बजे खुले पनि अध्यक्ष ओलीले गण्डकीको अधिवेशनमा नआउने जानकारी प्रदेश कमिटीलाई गराएका छन् ।

अध्यक्ष ओली मंगलबार हुने बन्द सत्रमा पनि आउने सम्भावना नरहेको एमालेका एक प्रदेश नेताले बताए । प्रदेशमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका दुवै उम्मेदवारलाई खुलेर समर्थन नजनाउने पक्षमा रहेकाले अध्यक्ष ओली अनुपस्थित भएको आशंका गरिएको छ ।

अध्यक्ष ओली नआएपछि महासचिव पोखरेलले अधिवेशनको उद्घाटन गरेका छन् । सम्बोधनका क्रममा महासचिव पोखरेलले आफू आएपछिको उडान स्थगित भएकाले अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पोखरा आउन नसकेको जानकारी गराए ।

एमाले गण्डकीको नयाँ नेतृत्वका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुण र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीच प्रतिष्ठाको लडाईं चलिरेहको छ । एउटै प्रदेश र एउटै समूहमा रहेर पनि लामो समयदेखि एक अर्कालाई स्वीकार नगर्ने प्रवृत्तिका कारण गुरुङ र अधिकारी दुबैले प्यानलसहित आफ्ना उम्मेदवार मैदान उतार्ने तयारी गरेका छन् । गुरुङले हालका अध्यक्ष नवराज शर्मालाई नै दाहोरयाउन चाहेका छन् भने अधिकारीले गुरुङकै गृहजिल्ला लमजुङका मायानाथ अधिकारीलाई अघि सार्ने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्