काठमाडौं,१६ असोज । पश्चिम नेपालका पहाडी जिल्लामा शक्तिशाली भूकम्प गएको छ । आज दिउँसो आधा घण्टाको अन्तरालमा बझाङको सदरमुकाम चैनपुर र तालकोट आसपास केन्द्रबिन्दू भएर दुईवटा भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा चैनपुर आसपास केन्द्र भएर ६.३ रेक्ट र आजै दिउँसो २ बजेर ४० मिनेट जाँदा तालकोट आसपास केन्द्र भएर ५.३ रेक्टर को भूकम्प गएको हो ।
स्थानीयका अनुसार अहिलेसम्म भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालयहरु र घरहरु भत्किएका छन् । भने सडकसमेत अवरुद्ध भएको हो । भूकम्पको क्षतिबारे डाटा संकलनको काम भइरहेको बझाङ प्रशासनले जनाएको छ । भूकम्पको धक्का पश्चिम नेपाल लगायत छिमेकी देश भारतमासमेत महसुस भएको छ ।