Logo

श्रीमानको हत्यारालाई आममाफी दिएको विरोधमा भारतीले थालिन रिले अनसन



काठमाडौं,१७ असोज । आफ्ना श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी भारती मानन्धरले रिले अनसन सुरु गरेकी छन् ।

मानन्धरले मंगलबार रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका ढकाललाई तत्काल थुनामै पठाउन माग गर्दै आजबाट रिले अनसन बस्ने घोषणा गरेकी थिईन् । सोही घोषणा अनुसार भारती आजबाट माईतीघर मण्डलामा रिले अनसन बस्न थालेकी हुन् ।

माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताइन ।

२०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो । उक्त हत्या रिगल भनिने योगराज ढकालले गरेका थिए । ढकाल २०७३ सालमा अदालतबाट आत्मसर्मपण गरेर आजीवन कारावासको सजाय काटिरहेका उनलाई सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आममाफी दिएका थिए । खुँडा प्रहार गरेर क्रूररुपमा हत्या गरेका हत्यारालाई आममाफी दिएको भन्दै सरकार र राष्ट्रपतिको चौतर्फी आलोचना भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्