काठमाडौं,१७ असोज । मंगलबार बझाङको चैनपुर तालकोट आसपास केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ३ म्याग्निच्यूटको भूकम्प र त्यसपछि गएको कयौं पराकम्पका कारण भएको जनधनको क्षतिबारे पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।
पूर्व राजा शाहको सम्बावद सचिव फणि पाठकले एक विज्ञप्ति जारी गर्दै उक्त भूकम्पबाट भएको जनधनको क्षतिबारे दुःख व्यक्त गरेका छन् । ‘ठुलो भूकम्पपछि उत्पन्न पराकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पूर्ण सतर्कता आवश्यक रहेको हाम्रो धारणा छ’, शाहले भनेका छन्, ‘भूकम्पबाट घायल भएकाहरूको शीघ्र उपचार तथा क्षतिबाट प्रभावित घर परिवारको राहत निर्माणतर्फ तत्काल सम्बन्धित सबैको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ ।’
मंगलबार गएको उक्त भूकम्पमा परि एक जनाको ज्यान गएको थियो भन्दै १५० भन्दा धेरै घरहरुमा क्षति पुग्नुका साथै २० जना घाइते भएका छ्न ।