Logo

एमाले गण्डकीको अध्यक्षका लागि अधिकारी र शर्मा भिड्ने



काठमाडौं,१७ असोज । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएको छ । सोमबारबाट सुरु भएको अधिवेशनमा आज मनोनयन सम्पन्न भएको छ ।

प्रथम अधिवेशनबाट प्रदेश अध्यक्षको नेतृत्व लिन वर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीले मनोनयन दर्ता गराएका छन् । शर्मा र अधिकारीले केन्द्रीय नेतृत्वको निर्देशन विपरित प्यानलनै बनाएर उम्मेदवारी दिएका हुन् ।

वर्तमान अध्यक्ष शर्माको प्यानलबाट अध्यक्षमा शर्मासहित सचिवमा धनञ्जय दवाडी, उपाध्यक्षमा मिनबहादुर गुरुङ र उपसचिवमा मञ्जु अधिकारी र दामबहादुर विश्वकर्माले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै अधिकारी प्यानलबाट अध्यक्षमा अधिकारी, उपाध्यक्षमा बाबुराम विश्वकर्मा, सचिवमा रश्मि आचार्य, उपसचिवमा मीना गुरुङ र सन्तोष रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराएका शर्माको प्यानललाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको छ भने, अधिकारीलाई पूर्व मुख्यमन्त्री खगराज अधिकारी र महासचिव शंकर पोखरेलको साथ रहेको छ ।

अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि छनोट भएका छन् । कास्कीबाट सबैभन्दा धेरै १४६ र मनाङबाट सबैभन्दा कम १४ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् । १६५ सदस्यीय प्रदेश कमिटीको लागि ३८२ जनाको उम्मेदवारी परेको छ ।



प्रतिक्रिया दिनुहोस्