काठमाडौं,१८ असोज । विद्युत् विधेयक-२०८० प्रतिनिधिसभा बैठकमा पेस भएको छ । बिहीबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेस गरेका हुन् ।
यो विधेयक मंगलबार नै पेस गर्ने कार्यसूची थियो । तर, गणपूरक संख्या नपुगकाले आज पेस गरिएको हो ।
विधेयक पेस गर्नुअघि सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि बैठकमा गणपूरक संख्या यकिन गरिएको थियो । एमाले सांसद ठाकुर गैरेले गणपूरक संख्या गणनाको माग गरेपछि गणना गरिएको थियो ।
प्रस्ताव पेस गर्नका लागि आवश्यक पर्ने ६९ सदस्यमध्ये ८१ जना उपस्थित भएपछि पेस गरिएको हो ।
प्रतिनिधिसभाले माओवादी केन्द्रका नेता तथा पूर्व सांसद खेमराज भट्टको निधनमा शोक प्रस्तावसमेत पारित गरेको छ । शोक प्रस्ताव पारित भएसँगै संसद्को अर्को बैठक असोज १९ गते शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।