काठमाडौं,१९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पूर्व राजा ज्ञानेन्द्र शाह र राजतन्त्र पक्षधरको कारण सामाजिक सद्भाव बिग्रिएको आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व उपप्रधान तथा उर्जामन्त्री समेत रहेका लिङ्देनले बिहीबार बसेको संसद् बैठकमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै पूर्व राजा र राजतन्त्र पक्षधरको कुन गतिविधिले लोकतन्त्रलाई असर गरेको हो भ्न्दै प्रश्न गरेका छन् ।
उनले भने, ‘केही साथीहरूले राजावादीहरू धार्मिक सद्भाव बिथोल्न लागेका छन् । त्यसलाई निगरानी गर्नुपर्यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र गतिविधिमा ध्यान दिनुपर्यो आग्रह गरे । कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरूको त्यस्तो जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ । पूर्वराजा ज्ञानेन्द्रको कुन त्यस्तोगतिविधि रहेछ जसले लोकतन्त्रलाई अवरुद्ध गरिरहेको छ । त्यसको त्यसको जानकारी लिन चाहन्छु ।’
बिहीबार बसेको संसद बैठकमा बोल्दै जसपाका सांसद यादवले पूर्व राजा ज्ञानेन्द्रको सक्रियताको कारण लोकतन्त्र र धार्मिक सद्भावमाा खलल पुगेको टिप्पणी गरेका थिए । सोप्रति बिहीबारकै बैठकमा नियमापत्ति जनाउन खोजेपनि राप्रपा सांसदले बोल्ने समय भने पाएका थिएनन् ।