काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले देशमा सबै धर्म र समूदायबीच सद्भाव र एकता कायम गर्न सर्वपक्षीय सन्देश जारी गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आज (शुक्रबार) बसेको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तोब ताएका हुन् । उनले भने–‘आज देशमा कोही मारवाडीलाई लखेटौं भन्छन्, कोही हिन्दूलाई लखेटौं भन्छन्, कोही मुस्लिम, बौद्ध र क्रिश्चियनलाई लखेटौं भन्छन् । यसरी मुलुक कहाँ जान्छ ? हामी सयौं वर्षदेखि एकता र सद्भाव कायम गरेर बसेका नेपालीलाई यो विभेदको नीति लिन कसले लगायो ? यसमा गम्भीर रुपमा सोच्नुपर्छ । र, एकताको लागि सन्देश सर्वपक्षीय रुपमा दिनुपर्छ ।’
उनले अहिले चाडपर्व आएको उल्लेख गर्दै सडकमा खाल्डाखुल्डी धेरै रहेको र सवारीसाधनमात्रै नभएर मान्छे नै डुब्न र पुरिन लागेको टिप्पणी गरे । उनले भने,‘सम्पूर्ण देशका खाल्डाखुल्डी पुर्ने काममा सरकार लागोस र त्यसमा ध्यान जाओस भन्न चाहन्छु ।’
जलहरी प्रकरणको विषय उठाउँदै सांसद खतिवडाले कहिले महालेखाले १० केजी पुगेन भनेको र अख्तियारले एक केजी पुगेन भनेको उल्लेख गरे । उनले भने,‘फेरि जोख्छ अनि ५ सय ग्राम पुगेन भन्छ, खोज्दा कहिले त्यहाँ ५० ग्राम भेटिन्छ । यो के हो ? अरुबेलामा सुन काण्डमा बुरुक्क, बुरुक्क उफ्रिनेहरु जलहरीमा किन चुप लागेका हुन् ? जवाफ चाहियो ।’