काठमाडौं,१९ असोज । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । ४ दिनसम्म चलेको प्रथम अधिवेशनबाट नवराज शर्माको नेतृत्वमा १६५ सदस्यीय प्रदेश कमिट चयन भएको हो ।
बिहीबार राती सम्पन्न भएको मतदानमा अध्यक्षका प्रत्यासी मायानाथ अधिकारीलाई हराउँदै शर्मा अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा विजयी भएका शर्माले ५३१ मत पाए भने, पराजित भएका अधिकारीले ३६१ मत पाए । अध्यक्षमा निर्वाचित शर्मा यसअघि पनि अध्यक्षनै थिए ।
प्रदेश अधिवेशनमा पराजित अधिकारीलाई एमाले महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन रहेको थियो । त्यस्तै निर्वाचित भएका नवराजलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, उपाध्यक्ष विष्णु पौडेल, सचिव पद्या अर्याललगायतका नेताहरुको साथ रहेको थियो ।
अध्यक्षमा पराजित भएका मायानाथले एमाले केन्द्रीय सदस्यको पदपनि गुमाएका छन् । एमालेको विधानको धारा ६७ (४) मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेद्वार भएमा पद गुम्ने प्रावधान छ।
एमालेको उक्त प्रावधानकै कारण अधिकारीले आफ्नो पद गुमाएका हुन् । उनी एमालेको चितवनमा सम्पन्न १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । एमाले उपमहासचिव गुरुङकै गृहजिल्ला लम्जुङका अधिकारी यसअघि प्रदेश सभाको अघिल्लो कार्यकालमा एमालेको प्रदेश सभामा प्रमुख सचेतकको भूमिकामा रहेका थिए ।
तत्कालीन अवस्थामा पीएस निकट नै भएर काम गरेका उनी प्रदेश अधिवेशन नजिकिँदै गर्दा खगराज निकट बन्न पुगेका थिए । खगराजले एमाले महासचिव पोखरेलसहितको साथ जुटाउँदै अध्यक्षको मैदानमा उतार्ने बचन दिएर क्याम्प चेन्ज गराएको चर्चा भएको थियो । तर,महासचिवसहितको साथ पाएपनि उनले जित्न सकेनन् ।
यसअघि पनि अन्य प्रदेशमा पराजित भएर एमालेका तीन नेताले केन्द्रीय सदस्यको पद गुमाएका थिए । पद गुमाउनेमा लुम्बिनी प्रदेश अध्यक्षमा प्रत्याशी बनेका हरिप्रसाद रिजाल, बागमतीमा प्रत्यासी बनेका कृष्णप्रसाद दाहाल र कोशीमा पराजित विनोद ढकाल रहेका छन्।