Logo

‘प्रधानमन्त्रीको घडी र छोरीको ब्याग सांसद सुनील शर्माले किनेर दिएको हो ?’



काठमाडौं, २० असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद लेखनाथ दाहाल (राजन) ले ज्ञानेन्द्र शाहलाई ‘राजा’ भन्नु संविधानमाथिको ठाडो चुनौती बताएका छन् ।
‘यो मुलुकमा कोही राजा छैन, कोही रजौटा छैन । जनताबाट निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति छन् । हाम्रो संविधानले राजालाई चिन्दैन र राजतन्त्रलाई पनि चिन्दैन । राजालाई व्यवस्थाले चिन्दैन । जनता, मुलुक र संसदले पनि चिन्दैन । तर माननीयजीले राजा भनेर ज्ञानेन्द्र शाहको बखान गर्नुभयो । त्यसैले मैले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेको हुँ । यो संविधानमाथिको ठाडो चुनौती हो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सभामुखले त रेकर्डबाट हटाउनु भएन नि भन्ने प्रश्नमा दाहालले भने, ‘रेकर्डबाट हटाउने वा नहटाउने सम्माननीय सभामुखको विवेकको कुरा हो । ज्ञानेन्द्र शाहलाई पूर्व राजा भन्न पाइयो । माननीयजीले आफ्नो भाषण, घोषणापत्र, पत्रकारसँग मात्र त्यस्तो शब्दावलि प्रयोग गर्न सक्नुहुन्छ । तर उहाँले पनि संविधानलाई त स्वीकार गर्नुपर् यो नि । संविधानअन्तर्गत सांसद बन्ने, तलब भत्ता खाने अनि संविधान नमान्ने भन्ने कुरा हुन सक्दैन । गणतन्त्रविरुद्ध संसद्मै बसेर ठोस र मूर्त कुरा गर्नु जायज छैन ।’

सांसद दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्र नै भएको दाबी पनि गरे । उनले थपे, ‘दल र नेताहरुप्रति आम जनताको गुनासो छ । तर जनता व्यवस्था विरुद्ध उठेका छैनन् । हिजोका सामन्त, दलाल र प्रतिगामीहरुले मात्र यस्तो प्रचार गरेका हुन् ।’ संसद्मा राप्रपा सांसद राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाइ राजा शब्द प्रयोग गरेका थिए ।
अर्को प्रसंगमा दाहालले संविधान र गणतन्त्रमाथि सुनियोजित आक्रमणमा सत्तापक्षीय सांसद पनि फसेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीको घडी र छोरीको ब्याग उहाँले किनेर दिएको हो ? घडीको मूल्य कति हो ? ब्यागको मूल्य कति पर्छ ? अन्ततः संविधान र गणतन्त्रमाथिको सुनियोजित आक्रमणमा सत्तापक्षीय माननीय पनि फस्नुभएको छ । यो अनावश्यक बहस र प्राविधिक कुरा उठान गरेर व्यवस्थालाई कमजोर बनाउने षडयन्त्र हो । तर कमइीकमजोरी छन् भने प्रधानमन्त्री सच्चाउन तयार हुनुहुन्छ ।’ हिजो संसद्मा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्रीको घडी र छोरी गंगा दाहालको ब्यागबारे प्रश्न उठाएका थिए ।
योगराज ढकाल रिगलको आम माफीमा कमीकमजोरी भएको र त्यस्ता कानुनी छिद्र बन्द गर्नुपर्ने बहस चलेको पनि दाहालले औंल्याए । उनले भने, ‘यस पटक आममाफी बहसको विषय बनेको छ । यसमा जसले हेर्नुपथ्र्यो, त्यसमा बद्नियत देखिएको छ । सम्बन्धित जेलरबाट यसको कमीकमजोरी सुरु हुन्छ । गृहमन्त्रालयको असावधानी पनि हो । अब यसबारे सम्मानित सर्वोच्च अदालतले निरुपण गर्छ ।’
अर्को प्रसंगमा उनले गठबन्धनको नेतृत्व सहमति बमोजिम मात्र बदलिने पनि बताए । कांग्रेस नेता शेखर कोइरालाको व्यक्तिगत विचारले आकार ग्रहण गर्ने स्थिति नबन्ने ठोकुवा पनि उनले गरे । नेता दाहालले कोसी प्रदेशमा अहिले निर्वाचन जानु बोझ हुने भएकाले अन्तिम समयसम्म प्रयत्न गर्नुपर्ने औंल्याए । उनले थपे, ‘अहिलेको स्थितिमा मध्यावधि निर्वाचन बोझ हुन्छ । कोसी प्रदेशमा अन्तिमसम्म प्रयत्न गर्नुपर्छ । सके सर्वदलीय सरकार नभए, बहुमतीय सरकार बनाऊँ ।’ राप्रपाले एउटा संसदीय समिति दिएर र सभाभुख लिएर सघाउने भद्र सहमति नतोड्ने उनले बताए । तपाईंहरु राजावादीसँग मिल्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘सहकार्य र संघर्ष स्वाभाविक हो ।’ दलहरुबीच सहमति नभए संवैधानिक गाँठो फुकाउन मध्यावधिमा जानुपर्ने बाध्यता आउने पनि सांसद दाहालले बताए ।



प्रतिक्रिया दिनुहोस्