Logo

एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनबारे मलाई जानकारी छैन : भीम रावल



काठमाडौं, २१ असोज । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले संघीयताको पुनर्मूल्यांकन गर्नुपर्ने औंल्याएका छन् ।
‘अब सरकार परिवर्तन गरेर मात्र केही हुनेवाला छैन । पुष्पजीको ठाउँमा अर्को जी आएर कुनै तात्विक भिन्नता होला भन्ने लाग्दैन । बरु अब संघीय प्रणालीको पुनर्मूल्यांकन गर्नुपर्ने बेला भयो । यस्तो थोपरिएको संघीयता साँच्चै मुलुकको आवश्यकता हो त ? संघीय प्रणालीमा पुनर्मूल्यांकन आवश्यक छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सरकारले खुलेआम अपराधी, ज्यानमारा, गुन्डाहरुलाई रिहा गर्दा राष्ट्रपतिले प्रश्न नगर्नु दुर्भाग्य भएको पनि रावलले बताए । उनले थपे, ‘मुलुक दलाल, पुँजीवादी र बिचौलियाको हातमा गएको छ । महँगी बढेको छ, कुशासन बढेको छ । जनता आफैं आन्दोलित हुने अवस्था छ ।’
विगत १७ वर्षमा धेरै नेताहरु पटकपटक प्रधानमन्त्री भए पनि शान्ति प्रक्रिया टुंग्याउन चासो नदिएको आरोप पनि रावलले लगाए । उनले भने, ‘हिजो केपी शर्मा ओली र प्रचण्डजी भेटेको सुनेँ । उहाँहरु पटकपटक प्रधानमन्त्री हुनुभएको छ । उहाँहरुलाई शान्तिप्रक्रिया टुंग्याउन कसले रोक्यो ? के उहाँहरुको हातमा तालाचाबी थिएन ?’
कतिपय शक्ति अँध्यारो कोठामा बसेर नेपाललाई अस्थिर, अराजक र असफल राष्ट्र बनाउने कुत्सित खेलमा लागेको उनको आरोप छ । रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश भ्रमण गरेपिच्छे दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको, आइसब्रेक र ब्रेक थु्र भएको भन्न गरेको भन्दै व्यंग्य पनि गरे । उनले भने, ‘कुन देशसँगको सम्बन्ध कुन उचाइमा गएको छ ? सारा कूटनीतिक मर्यादा बिर्सेर आफ्नी छोरीलाई दोस्रो वरीयतामा राख्न मिल्छ ? ब्रेक थ्रु, आइसब्रेक आदि शब्द प्रयोग गरेर नेपाली जनतालाई भ्रममा राखेर आफूलाई अग्लो बनाउने प्रयास गर्नु निरर्थक छ । त्यो भयो कि भएन, परिणाममा हेर्नुपर्छ ।’ साथै उनले एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले मान्छु भनेको कागज नेपाली जनतालाई देखाउन पनि चुनौती दिए ।
एमाले नेता रावलले पार्टीको सुदूरपश्चिम अधिवेशनबारे आफूलाई जानकारी नै नरहेको पनि बताए । उनले भने, ‘म अहिले बझाङमा छु । अहिलेसम्म भूकम्पपीडितले राहत पाउन सकेका छैनन् । पार्टीको प्रदेश अधिवेशनबारे मलाई केही जानकारी छैन । मैले पनि सञ्चारमाध्यमबाट थाहा पाएको हुँ । औपचारिक रुपमा मलाई कसैले आमन्त्रण गरेको छैन ।’
देशमा विधिको शासन मिच्ने र पार्टीमा विधिको शासन मिच्ने दुवै कार्य घातक हुने रावलले औंल्याए । उनले भने, ‘मैले नेकपा एमालेमा पाँच दशक काम गरेँ । मदन भण्डारीको अगुवाइमा बनेको जनताको बहुदलीय जनवाद प्रतिस्पर्धाको राजनीतिमा विश्वास गर्छ । कोही नेता पार्टी कार्यकर्ता र जनता दुवैबाट अनुमोदित भएर आउनुपर्छ । मैले बुझेको त्यही हो । एमालेले त्यो सिद्धान्त परिवर्तन गरेको मलाई जानकारी छैन । दस्तावेजबाहिर गएर हुने बहसको औचित्य छैन ।’



प्रतिक्रिया दिनुहोस्