Logo

एमाले सुदूरपश्चिमको अधिवेशन आज,भीम रावललाई गरिएन निम्ता



काठमाडौं,२१ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ ।

प्रदेश राजधानी धनगढीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केहिबेरमा अधिवेशको उद्घाटन गर्नेछन् । अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली धनगढी पुगिसकेको एमालेले जनाएको छ ।

आज र भोलिसम्म चल्ने अधिवेशनबाट एक अध्यक्षसहति पाँच जना पदाधिकारी र १५५ जनाको प्रदेश कमिटी चयन हुनेछ । जसका लागि प्रदेशभरबाट ६७५ जना प्रतिनिधि चयन भएका छन् ।

अध्यक्षमा तीन जनाको दाबी
एमाले सुदूरपश्चिम प्रदेश हाँक्नका लागि तीन जनाले दाबी प्रस्तुत गरेका छन् । नेताहरु कृष्णप्रसाद जैसी, बचनबहादुर सिंह र कमल तिमल्सिनाले अध्यक्षमा दाबी गरेका छन् । अध्यक्षमा दाबी गर्ने जैसी हालका प्रदेश कमिटी सदस्य हुन् । अछाम १ को ख बाट प्रदेश सभाको उम्मेदवार बनेर पराजित भएका जैसी आगामी निर्वाचनमा एमाालेलाई प्रदेशकै पहिलो शक्ति बनाउन आफ्नो उम्मेदवारी अपरिहार्य रहेको दाबी गर्छन् ।

त्यस्तै सिंह एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपालबाट राजनीतिमा उदायका उदीयमान नेता हुन् । कञ्चनपुर निवासी सिंह ०५० को दशकबाट एमालेको राजनीतिमा लोगका हुन् । उनी गत प्रदेश सभा निवाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेर पराजित भएका थिए । एमालेलाई मिसन ०८४ मा एमालेलाई एकबल बहुमत दिलाउन पनि आफ्नो नेतृत्व अपरिहार्य रहेको दाबी गर्छन् ।

त्यस्तै तिम्लिसिना पनि एमाले अछामका पुराना नेता हुन् । ०४० को दशकबाटै एमालेको राजनीतिमा सक्रिय उनी एमालेमा कम अवसर पाउने नेताको रुपमा चिनिन्छन् । उनले आफूले प्रदेशको नेतृत्व पाएमा एमालेलाई अन्य पार्टीभन्दा भिन्न बनाउने भिजन आफूसँग रहेको बताउँछन् ।

भीम रावललाई गरिएन निम्ता

आजबाट सुरु हुन लागेको अधिवेशनका लागि एमाले प्रदेश कमिटीका पूर्व इन्चार्ज भीम रावललाई भने जानकारी गराईएको छैन् । रिपोर्टर्स नेपालसँग कुराकानी गर्दै रावलले आफू बझाङमा रहेको र अधिवेशनबारे जानकारी नभएको बताए । ‘म अहिले बझाङमा छु । अहिलेसम्म भूकम्पपीडितले राहत पाउन सकेका छैनन् । पार्टीको प्रदेश अधिवेशनबारे मलाई केही जानकारी छैन । मैले पनि सञ्चारमाध्यमबाट थाहा पाएको हुँ । औपचारिक रुपमा मलाई कसैले आमन्त्रण गरेको छैन ।’ रावलले भने ।

रावल एमालेमा पछिल्लो समय असन्तुष्ट रहँदै आएका छन् । चितवनमा सम्पन्न १०औं महाधिवेशनमा अध्यक्षमा केपी ओलीविरुद्ध उम्मेदवारी दिएपछि ओलीसँग सम्बन्ध चिसिएको थियो । सो महाधिवेशनबाट पार्टीको गतिविधिमा निष्कृय जस्तै रहेका रावल र अध्यक्ष ओलीबीच गत साउनमा भेटवार्ता पनि भएको थियो । यद्यपि उक्त भेटवार्ताले पनि दुई नेताबीच सम्बन्धमा सूधार भने आउन सकेको छैन । कुनै समय एमालेमा ओलीका भरपर्दा सहयोगीको रुपमा चिनिएका रावल अहिले उनै ओलीको विकल्प खोज्न लागेपछि भने अध्यक्ष ओली उनीसँग चिँडिएको एमालेका नेताहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्