काठमाडौं,२१ असोज । नेकपा एमालेका सांसद विद्या भट्टराईले वीर अस्पतालमा कार्यरत २३० जना स्वास्थ्यकमीहरुलाई नहटाउन माग गरेकी छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद भट्टराईले दशैको सम्मुखमा आएर कर्मचारी हटाउँदा उनीहरुको मनोवल गिर्ने भन्दै मन्त्रालयले गरेको कर्मचारी हटाउने निर्णय कार्यान्यवयन नगर्न माग गरेकी हुन् । उनले कोरोनाको महाकालमा भर्ना गरिएको उक्त स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्दै सेवा प्रवाह गर्ने अवसर प्रदान गर्नका लागि मन्त्रालयसँग मागसमेत गरेकी छन् ।
‘वीर अस्पतालमा कार्यरत २३० जना स्वास्थ्यकर्मीहरु लाई दशैंको सम्मुखमा सरकारले हटाउने निर्णय गरेको छ । कोरोना महामारीको समयमा नियुक्ति गरिएका ५० जना डाक्टर १६२ जना नर्स र ११ जना प्रयोगशाला प्राविधिक र ७ जना रेडियोलोजिष्टलाई आजबाट काममा नआउनु भन्दै माननीय स्वास्थ्यमन्त्रीले निर्देशन दिनुभएको छ । वीर अस्पतालको सेवा विस्तार भएको छ । ३५० सय्या रहेको अस्पतालमा ९०० बनाईएको छ । ८३१ जनाको दरबन्दी मन्त्रालयले स्वीकृत गरेको छ । सरकारले करारमा रहेका स्वास्थ्यकर्मीहरुलाई आर्थिक अवस्था देखाएर हटाउने आकस्मिक निर्णयले वीर अस्पतालले प्रवाह गर्ने विस्तारित सेवा खस्किनुका साथै आम नागरिकहरु सेवाबाट बञ्चित हुने अवस्था सिर्जना हुनेछ ’ । सांसद भट्टराईले भनिन्
सांसद भट्टराईले सरकारले निजी स्वास्थ्य संस्थामा उपचार गर्नका लागि बाध्य हुने खालको गतिविधि गर्न नहुने पनि बताइन्।
उनले भनिन्, ‘सरकारले करारमा रहेका स्वास्थ्यकर्मीहरुलाई आर्थिक अवस्था देखाई हटाउने आकस्मिक निर्णयले वीर अस्पतालले प्रवाह गरिरहेका बिस्तारित सेवा खस्किनुका साथै आम नागरिकहरु सेवाबाट वञ्चित हुनेछन्। सेवा लिन आएका नागरिकहरुलाई निजी स्वास्थ्य संस्थामा जान सरकारले नै बाध्य गरिरहेको छ। स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहित गर्दै सेवा प्रदान गर्ने अवसर दिनका लागि म सम्माननीय सभामुखमार्फत सम्मानित सदन र सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु।’