Logo

सांसद वाग्लेको टिप्पणी : यसपालि पनि आर्थिक वृद्धि साढे ३ प्रतिशत ननाघ्ने अवस्था छ (भिडिओसहित)



काठमाडौं, २१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले आर्थिक वृद्धि यसपालि पनि साढे ३ प्रतिशत ननाघ्ने अवस्था आएको बताएका छन् । प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्छु भनेपनि गत साल २ प्रतिशतभन्दा कम रहेको थियो र यसपालि पनि साढे ३ प्रतिशत ननाघ्ने अवस्था आएको छ । विदेशबाट आएको विप्रेषण, पर्यटक र निजी क्षेत्रले गरिदिएको लागानीका कारण जलविद्युत्, पर्यटन र रेमिट्यान्समा केही सुधार देखिएपनि सरकार आफैंले गर्नुपर्ने कामहरूमा धेरै प्रगति भएको छैन ।’

सांसद वाग्लेले कसिलो आयात र मौद्रिक नीतिले गर्दा सोधनान्तर अवस्था केही सुध्रिएको देखिए पनि सरकार आफैले गर्छु भनेका कामहरू कत्ति पनि नगरेको भन्दै सरकारको ध्यानाकार्षण गराए । उनले भने, ‘बजेटको दफा २९ देखि दफा ५२ सम्मका बुँदाहरूमा धेरै कुराहरू असारसम्म गरिने भनिएको थियो केही कुराहरू साउनसम्म गर्छु भनिएको थियो । असोजसम्मका कुनै म्याद पूरा भएका छैनन् । हामीले अर्थमन्त्रीलाई शंकाको लाभ दिएकै हो, जेठ १५ मा । तर त्यो काम भएको छैन । ५२ नम्बरको बुँदामा रहेको सरकारी निकायमा रहेका पुराना सवारी साधनलगायतका सामानहरू ६ महिनाभित्र लिलाम गरिनेछ भनिएको छ । ४ महिना गइसक्या छ, बाँकी २ महिनामा यो सारा संकट पूरा गर्नुहुन्छ भन्ने मलाई लागेको छैन ।’



प्रतिक्रिया दिनुहोस्