काठमाडौं,२१ असोज । सरकारले संसद्मा दर्ता गराएको विद्यालय शिक्षा विधेयकमाथि बिचार गरिओस् भन्ने प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राखेको उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने बाटो खुला भएको छ ।
सभामुख देवराज घिमिरेका अनुसार ७२ घण्टाभित्र सांसदहरुले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन् ।
विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरुले गरेका प्रश्नहरुको जवाफ दिँदै शिक्षामन्त्री राईले संविधान अनुसार विधेयक ल्याइएको बताए । संविधानमा आधारभुत शिक्षा निशुल्क र अनिवर्ष भनिएको छ भने माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने भनिएको छ । यसलाई कार्यान्वयन गर्ने गरी विधेयक आएको मन्त्री राईको दाबी छ ।