Logo

इजरायलमा रहेका पुराना नेपाली युद्धसँग अभ्यस्त छन् : राजदूत रिजाल



काठमाडौं, २२ असोज । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले त्यहाँ रहेका बाँकी नेपाली बंकरभित्र सुरक्षित रहेको बताएकी छन् ।
‘इजरायलमा नेपालीहरु विभिन्न प्रकारले आउनुहुन्छ । कोही कामका लागि आउनुहुन्छ, कोही ११ महिने लर्न एन्ड अर्न प्रोग्राममा आउनुहुन्छ । अहिले तीन विश्वविद्यालयबाट २६२ विद्यार्थी आउनुभएको थियो । अहिले घटना भएको दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा रहेको गोलभेँडा फार्ममा १७ जना नेपाली विद्यार्थी कार्यरत हुनुहुन्थ्यो । तीमध्ये तीन जना उपचारार्थ अस्पतालमै हुनुहुन्छ, एक जना डिस्चार्ज हुनुभएको छ । एक जना हराएको साथीको खोजी भइरहेको छ । दुःखसाथ भन्नुपर्छ, १० जना हामीसँग रहनुभएन । त्यही क्षेत्रमा अरु पनि थुप्रै नेपाली हुनुहुन्छ । उहाँहरु बंकरभित्र सुरक्षित हुनुहुन्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भनिन् ।
राजदूत रिजालले बंकरभित्र रहेका नेपालीलाई खाना पुर्याउने अवस्था भने नरहेको बताइन् । उनले भनिन्, ‘इजरायलका प्रत्येक घर र संस्थामा बंकर हुन्छ । लडाइँ हुँदा इमर्जेन्सी साइरन बज्छ र त्यही अन्डरग्राउन्ड बंकरमा लुक्ने चलन छ । बंकरभित्र रहँदा सामान्यतः सुरक्षित भन्ने बुझिन्छ । कति नेपाली साथीहरु बंकरभित्र खानेकुरा नभएकाले पानी खाएर बसेको पनि सुनेका छौं । त्यहाँ तत्काल खाना लाने, ल्याउने अप्ठ्यारो छ । तर आजबाट हामी रेस्क्यूमा लाग्छौं । घाइतेको इन्सुरेन्स हुन्छ । तत्काल भुक्तानी नहुने स्थितिमा पनि हामी इजरायल सरकारसँग समन्वय गरेर निकास निकाल्छौं ।’
साथै उनले नेपाल फर्कन चाहने र ठाउँ परिवर्तन गर्न चाहने नेपालीका लागि अनलाइन फर्म खोलेको पनि बताइन् । राजदूत रिजालले भनिन्, ‘कति जना ठाउँ चेन्ज गर्न चाहनुहुन्छ ? कति जना फर्कन चाहनुहुन्छ ? हामीले विद्यार्थी र कामदार नेपालीका निम्ति अनलाइन फर्म खुला गरेका छौं ।’
सबै जना नेपाल फर्कने व्यवस्था मिलाउन आर्थिक रुपमा धान्न गाह्रो हुने औंल्याउँदै राजदूत रिजालले एनआरएन लगायत सामाजिक संघसंस्थाले सघाउने वचन दिएको पनि बताइन् । उनले भनिन्, ‘सबै फर्कन चाहनुभयो भने फाइनान्सियल रुपमा देशले धान्न सक्दैन । फर्कन चाहने सबैको एयर फेयर गर्न गाह्रो छ । यहाँका संघसंस्था बस्ने घर दिन्छौं समेत भन्नुभएको छ । युद्ध लामो समय गयो भने विद्यार्थीलाई रेस्क्यु गरेर नजिकै अपार्टमेन्ट खोजेर राख्ने पहल पनि छ ।’
एसिया प्यासिफिकको एम्बेसडर ग्रुप मिलेर पनि युद्धग्रस्त क्षेत्रमा उद्धारको पहल भइरहेको उनले जानकारी दिइन् । राजदूतले भनिन्, ‘यहाँ नेपाली मात्र नभएर अरु देशको पनि ६०० प्लसको मृत्यु भएको छ । कति जना अपहरित छन् । जो जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, अहिलेको अवस्थामा घरभित्र बस्ने, बाहिर ननिस्कने, सुरक्षा गाइडेन्स अपनाउने गर्नुपर्छ । हामी एसिया प्यासिफिक एम्बेसडर ग्रुप मिलेर पनि इजरायली सरकारसँग समन्वय गरेर काम गरिरहेका छौं ।’
इजरायलमा रहेका पुराना नेपाली भने युद्धसँग अभ्यस्त रहेको पनि राजदूत रिजालले बताइन् । उनले भने, ‘मैले अघि पनि भनेँ, सामान्य रुपमा हामी बंकरमा बसेपछि सुरक्षित हुन्छौं । तर वारको सिचुएसन भोलि के हुन्छ, यसै भन्न सकिन्दैन । यहाँ युद्ध त भइरहन्थ्यो । यहाँ रहेका पुराना नेपाली अभ्यस्त हुनुहुन्थ्यो । अहिले मारिएका साथीहरु चाहिँ नयाँ भएकाले पनि समस्या भयो । दुईजना साथीहरु रेस्क्यु गर्न आएछ भनेर निस्कँदा हमासले गोली सिकार हुनुभएको कुरा पनि आएको छ ।’
आफूले राजदूतको रुपमा रातभरि नसुतीकन पनि काम गरिरहेको उनले बताइन् । रिजालले थपिन्, ‘म रातभरि नसुतीकन पनि काम गरिरहेको छु । तर सोचेजति चाहेजति गर्न नसकेको हुँला । मेरो काममा म र मेरो भगवानको बीचमा हुनुपर्छ । त्यति मात्र सोचेर मैले काम गरेको छु । मलाई लाग्छ, मेरो भगवान दुःखी हुनुहुन्न । युद्ध त हाम्रो नियन्त्रणमा छैन । तर एक जनाको पनि दुःखको कुरा सुन्नु नपरोस् भन्ने कामना छ ।’



प्रतिक्रिया दिनुहोस्