Logo

स्थानीय तहका कर्मचारी नौ दिनदेखि सडकमा



काठमाडौं, २२ असोज । नौ दिनदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रँदा पनि सरकारले चासो नदिएको भन्दै स्थानीय तहका हजारौं कर्मचारी आज र भोलि राजधानीमा जम्मा हुने भएका छन् ।
‘हामी शान्तिपूर्ण कार्यक्रम उत्रिएको नवौं दिन भयो । माइतीघरमा धर्ना दियौं । नयाँ वानेश्वरमा कोणसभा पनि गर् यौं । तर सरकारले चासो दिएन । हिजो सबै सहभागी सिटी फुकेर ध्यानाकर्षण पनि गरायौं । शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नभएकाले आज र भोलि अलि मास उतारेर खबरदारी गर्दै छौं । आज ५–६ हजार कर्मचारी सडकमा उतार्दैछौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका सहसंयोजक रामप्रसाद न्यौपानेले भने ।
आफूहरुले शिक्षक आन्दोलनको झझल्को दिने गरी आन्दोलनमा आउने चेतावनी पनि उनले दिए । न्यौपानेले भने, ‘ठूलो मास नदेखेर होला, सरकारले हामीलाई औपचारिक रुपमा वार्तामा बोलाएन । के के समस्या छन् भनेर सोधेन । अब हामी पनि हल्लाखल्ला र ठूलो मास देखाउन लाग्छौं । तर उच्छृंखल ढंगले आन्दोलन गर्दैनौं ।’
सरकारले अहिलेसम्म औपचारिक रुपमा वार्तामा नबोलाएको पनि उनले बताए । न्यौपानेले आफ्ना २० बुँदे मागबारे सरोकारवाला मन्त्रालय, मन्त्री, प्रमुख दलका प्रमुख सचेतकहरु, ट्रेड युनियनलाई ध्यानाकर्षण गराएको पनि अध्यक्ष न्यौपानेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्