Logo

इजरायलमा रहेका नेपालीहरुको उद्धारको लागि सरकारले आफ्नो सम्पूर्ण शक्ति खर्चियोस : एलिजा गौतम



काठमाडौं, २२ असोज । समाजसेवी तथा चर्चित नायिका एलिजा गौतमले इजरायलमा रहेका सबै नेपालीहरुको सकुशल उद्धारको लागि तत्काल पहलकदमी लिन सरकारसमक्ष आग्रह गरेकी छिन् । उनले इजरायलमा रहेका नेपालीहरुले उद्धारको लागि याचना गरेका भिडिओ र अन्य सामाग्रीहरु बाहिरिएको अवस्थामा पनि सरकारले आवश्यक कदम नचालेको भन्दै आक्रोशसमेत पोखेकी छिन् ।

उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छिन्–

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा अनाहकमा १० जना नेपालीले ज्यान गुमाएका छन् । म मृत्तआत्माहरुको चीर शान्तिको कामना गर्दछु । शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु । यतिवेला इजरायलमा कार्यरत/अध्ययनरत नेपालीहरूको अवस्था विकराल बनेको छ ।

नेपालीहरु बङ्करभित्र भोक भोकै रहेका समाचार आईरहेका छन् । कतिपयले सहयोगको याचना गरेका भिडिओ पनि सार्वजनिक भएका छन् । सरकार कहाँ छ ? के हेरेर बसेको छ ? आफ्नो देशको नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने होईन ? उनीहरुलाई सकुशल उद्धार गरेर स्वदेश फर्काउने दायित्वबाट सरकार यसरी विमुख हुन मिल्छ ? त्रासदीपूर्ण अवस्थामा गुज्रिएका नेपालीहरुको उद्धारको लागि सरकारले आफ्नो सम्पूर्ण शक्ति खर्चिनुपर्ने बेला आएको छ ।

सरकार र सम्बद्ध अधिकारीहरुको काम भनेको यति जनाको निधन भयो अनि यति जना बङ्करभित्र छन् भनेर सूचना दिने मात्र नहोस । इजरायलमा रहेका सबै नेपालीहरुको सकुशल उद्धारको लागि तत्काल पहलकदमी लिने काम होस । म सम्माननीय प्रधानमन्त्री र उहाँ नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु । –एलिजा गौतम



प्रतिक्रिया दिनुहोस्