काठमाडौँ, २२ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई नियमन र व्यवस्थापन गर्न सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ छिट्टै ल्याउने तयारी गरिरहेको जानकारी दिएकी छिन् ।
प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी आजदेखि सुरु गरेको तीन दिने ‘एड्भान्स पत्रकारिता तालिम’को सुरुवात गर्दै मन्त्री शर्माले सामाजिक सञ्जालमा सद्भाव खलबलिने किसिमको समाचार नलेख्न आग्रह गरिन् ।
मन्त्री शर्माले तालिमले पत्रकार महिलाको क्षमता अभिवृद्धिमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरिन् । उनले भने, “एकाउन्न प्रतिशत महिला रहेको देशमा पत्रकारिता क्षेत्रमा आबद्ध महिलालाई सक्षम बनाउन जरुरी छ ।” उनले महत्वपूर्ण ‘विट’मा पत्रकार महिलाको सहभागिता बढाउनसमेत आग्रह गरिन् । मन्त्री शर्माले बागमती प्रदेशसँगै अन्य प्रदेशमा पनि यस प्रकारका तालिम सञ्चालन गर्न प्रेस काउन्सिललाई अनुरोध गरिन् ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पत्रकार महिलालाई लक्षित गरी प्रविधि क्षमता वृद्धि गर्न तालिम सञ्चालन गरेको बताइन् । उनले समावेशी पत्रकारिता बनाउनका लागि महिलालाई सक्षम, सबल र दक्ष बनाउन यस तालिमले सहयोग पु¥याउनेमा विश्वास व्यक्त गरिन् ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिलालाई विस्थापित हुनबाट बचाउन प्रविधिमा सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको जानकारी दिए । उनले भने, “नेपाली पत्रकारितामा महिलाको सङ्ख्या २१ प्रतिशत रहेको र यो सङ्ख्या बढाउन तालिमले सहयोग पु¥याउनेछ ।”
पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रेस काउन्सिल नेपालले तालिम सञ्चालन गरेको हो । असोज २४ गतेसम्म सञ्चालन हुने तालिममा बागमती प्रदेशका २० महिला पत्रकार सहभागी छन् । रासस