काठमाडौं, २४ असोज । संसारभरिका हिन्दु र बौद्धको आस्थाको केन्द्र प्रख्यात आराध्यदेवी कालिन्चोक भगवतीको मन्दिर रहेको पालिका हो, दोलखाको कालिन्चोक गाउँपालिका । कालिन्चोक भगवती दर्शनका साथै रमणीय क्षेत्रको भ्रमणका लागि वर्षेनी हजारौं पर्यटक ओइरिन्छन् ।
३८४२ मिटर उचाइमा रहेको कालिन्चोक भगवतीको मन्दिर क्षेत्रको धार्मिक र पर्यटकीय विकासका लागि बाटो बनाएको र युनेस्कोको सम्पदा सूचीमा राख्ने गरी डकुमेन्ट बनाएर अघि बढाएको गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले बताए ।
कृषिको लागि राम्रो क्षेत्र भए पनि बाँदर, बँदेल लगायत जंगली जनावरको बिगबिगीले किसानहरु सहरतिर पलायन भएको उनको दुखेसो छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने, ‘युवा जनशक्ति गाउँमा छैन । धेरै जमिन बाँझो छ । बाँदर, बँदेल लगायतका जंगली जनावरका कारण किसानहरु पलायन भएर सहरकेन्द्रित भएको अवस्था छ ।’
किसान विस्थापनको मुख्य कारण बाँदर भए पनि त्यसको व्यवस्थापन गर्न कानुन नै बाधक भएको शिवाकोटीले औंल्याए । उनले भने, ‘बाँच्न पाउने अधिकार जीवजन्तुको पनि छ । बाँदर देशभरिकै समस्या हो । हामीले एक घर एक बाँदर पाल्न खोज्दा कानुनले दिएन । कि त अस्ट्रेलिया सरकारले कंगारुको विदेश सप्लाई गरे जस्तै गर्न दिनुपर् यो । पाल्न पनि नदिने, मार्न पनि नदिने भएपछि समस्या भयो ।’
बाँदरले नष्ट नगर्ने खालका फलफूल र जडीबुटीको प्रयोग गर्ने, समातेर बन्ध्याकरण गर्ने विकल्प सोचेको पनि उनले बताए । गाउँपालिकाले कृषि उपज बजारसम्म लैजान कृषि एम्बुलेन्सको व्यवस्था गरेको छ भने आठ वटा वडामा १० कृषि फार्म सञ्चालित छन् ।