Logo

‘सरकारले भन्दैमा युद्धक्षेत्रमा जहाज जान सक्दैन’



काठमाडौं, २४ असोज । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रष्टाचारविरोधी अभियान नक्कली भएको टिप्पणी गरेका छन् ।
‘प्रचण्ड र नारायणकाजी मिलेर नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास प्रकरण र सुन तस्करी काण्डका दोषीलाई कारबाही गर्छन् भनेर हामीले कति वाहवाही गर् यौं । तर नारायणकाजी जति लागे पनि प्रचण्डको समर्थन नक्कली रहेछ । तीनवटै प्रकरण बिस्तारै सेलाउँदै गएका छन् । बाबु चाहिँ महरालाई चोख्याएको हेर्नुस् न,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
डा. दीक्षितले जघन्य अपराधीलाई छुटाएर सरकारले आफ्नो औचित्य गुमाएको पनि बताए । उनले थपे, ‘एउटी निरीह महिलालाई रुने कराउने स्थिति बनाउँछ भने यो सरकार, प्रधानमन्त्री वा राष्ट्रपतिको के काम ? पुराना पार्टीहरु बुथ क्याप्चर गर्न र पैसा खर्च गरेर भोट किन्न खप्पिस छन् । त्यसका लागि गुन्डाहरु पाल्छन् । जघन्य अपराधीलाई छुटाउँछन् । राजनीतिको अपराधीकरण भइसक्या छ । यो सिस्टम चल्दै चल्दैन । अब अति भयो । जनता वाक्क भएका छन् । प्रचण्डको ठाउँमा रवि लामिछानेले ह्यान्ड डाउन जित्छ । देउवाको ठाउँमा बालेन शाहले जित्छ । अब यिनलाई जनताले विद्रोह गरेर फ्याँक्नैपर्छ ।’
इजरायलमा १० नेपाली विद्यार्थी मारिनुमा पनि सरकारकै दोष रहेको उनले बताए । डा. दीक्षितले भने, ‘सरकारले यहाँ बस्ने वातावरण बनाएको भए को विदेश जान्थ्यो ? तिनको शव ल्याउन पनि सक्ला जस्तो छैन । युद्धक्षेत्रमा एयरलाइन्सलाई जाऊ भन्दैमा जाँदैन । सामान्य अवस्थामा जस्तो चार्टर्ड प्लेन जाँदैन । उड्दाउड्दै ठोकिदियो भने के गर्ने ? पहिलो कुरा रुट पाउँदैन । अर्को कुरा इन्सुरेन्स नभए मान्दैन ।’ त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धार गर्न पनि उनले माग गरे ।



प्रतिक्रिया दिनुहोस्