Logo

सत्तापक्षीय सांसदलाई प्रश्न— सरकारले इजरायलबाट १० नेपालीको शव किन ल्याउन सकेन ?



काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका नेता एवं सांसद उदयशमशेर राणाले इजरायल सरकारको सहयोग बिना त्यहाँ मारिएका १० नेपालीको शव ल्याउन कठिन हुने औंल्याएका छन् ।
‘हिजो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री आउनुभएको थियो । हामीले शव ल्याउने बारे प्रश्न गर् यौं । उहाँले के भन्नुभयो भने युद्धग्रस्त क्षेत्रमा सामान्य शवबाहन लिएर सहज रुपमा उठाउन सक्ने स्थिति छैन । यो नेपाल सरकार आफैंले गर्ने पनि होइन । यसमा हामीले इजरायल सरकारको सहयोग लिनुपर्छ । इजरायल युद्धको परिस्थितिमा छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
तत्काल १० जनाको शव ल्याउन, युद्धग्रस्त क्षेत्रमा रहेका सबै नेपालीहरुलाई उद्धार गरी बंकरमा राख्ने व्यवस्था मिलाउन र स्वदेश फिर्तीका लागि अनलाइन आवेदन दिएका ३ सय ५० जनालाई ल्याउन संसदीय समितिले निर्देशन दिएको पनि सांसद राणाले बताए । भारतले त्यहाँ मारिएकाको शव ल्याइसक्यो, नेपालले किन नसक्ने भन्ने पत्रकार धमलाको प्रश्नमा राणाले थपे, ‘हामी शव ल्याउँछौं, ल्याउनुपर्छ । तर अहिले इजरायल अति जोखिमपूर्ण परिस्थितिमा छ । सामान्य परिस्थितिमा जस्तो शव उठाएर ल्याउन सकिँदैन । शव संकलन गरेर एयरपोर्टसम्म ल्याउनुपर्छ । तर हाम्रो डाइरेक्ट फ्लाइट छैन । भारतको इजरायलमा डाइरेक्ट फ्लाइट छ । तर भारतले पनि सबै शव ल्याउन सकेको छैन ।’
भारत सरकारसँग मात्र नभएर इजरायलका छिमेकी देशहरु जोर्डन, युएई, साउदी अरबसँग पनि शव ल्याउन सहयोग माग्नुपर्ने उनले औंल्याए । राणाले भने, ‘अहिले इजरायलको नेपाली राजदूतावासमा जम्मा तीन जना कर्मचारी हुनुहुन्छ । उहाँहरु पनि बंकरमै बसिरहनुभएको छ । परराष्ट्रमन्त्रीले दुई चरणमा इजरायली राजदूतसँग कुरा गर्दा एयररुट क्लियर भएपछि शव ल्याउन सहजीकरण हुने बताएका छन् । युद्धग्रस्त क्षेत्रमा अलपत्र परेका नेपालीलाई नेपाल फर्काउनुपर्ने अवस्था छ । त्यहाँ रहेका पाँच हजार नेपालीलाई सुरक्षित राख्नु पनि हाम्रो जिम्मेवारी हो । यो परिस्थिति सहज छैन भन्ने सबैले बुझ्नुपर्छ ।’
साथै उनले सञ्चार माध्यमहरुलाई अलमिलने र भ्रामक सूचना नदिन आग्रह गरे । राणाले भने, ‘नेपाल सरकारको मन्त्री होइन, सांसद मात्र हुँ । यो कसैले नसोचेको आक्रमण हो । अहिले एक्ट अफ टेररिजम विरुद्ध सबै एक ठाउँमा उभिनुपर्छ । एक अर्कालाई गाली गरेर होइन, मिलेर अघि बढ्नुपर्छ । शोक र जटिल परिस्थितिमा जनतालाई अलमलाउने, भ्रम फैलाउने र भड्काउने समाचार नदिऊँ । जनतालाई अत्तालिने परिस्थिति नबनाऊँ ।’



प्रतिक्रिया दिनुहोस्