Logo

भेपमा सुन तस्करी प्रकरण: पूर्व सभामुख महराले सीआईबीलाई दिएको बयानमा के छ ?



काठमाडौं,२४ असोज । विद्युतीय सिगरेट (भेप) मा लुकाएर सुन तस्करी गरेको अभियोगमा राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । राहुल माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महरासहित, लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई हाल काठमाडौं बस्ने दावा छिरिङ र काठमाडौंका निमा गुरुङलाई प्रतिवादी बनाएको छ । प्रतिवादी ४ मध्ये निमा फरार छन् ।

उनीहरूविरुद्ध अपराधिक विश्वासघात, भन्सार चौरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसूरको मुद्दा लगाइएको हो । उनीहरूबाट ७३० थान भेपबाट ९ केजी ११ दशमलब ५२४ ग्राम परिमाणको सुन तस्करी गरिएको ठहरसहित ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

सीआइबीले राहुलविरुद्ध मुद्दा दायर गरेपनि यस प्रकरणमा जोडिएका पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई भने प्रतिवादी बनाईएको छैन । उनलाई प्रतिवादी बनाउन नपर्ने राय यसअघिनै सीआइबीले सरकारी वकिलको कार्यालयलाई दिएको थियो । सीआइबीलाई महराले दिएको बयानमा तत्कालीन भन्सार विभागका प्रमुख अरुणकुमार पोखरेलसँग आफ्नो पूरानो चिनजान रहेको उल्लेख गरेका छन् ।

महराले भन्सार प्रमुख पोखरेलसँगको चिनजानकै कारण उक्त घटनामा के भएको हो, के गर्न मिल्छ भनेर सोधखोज गरेको र भेटेको उल्लेख गरेका छन् ।

‘मिति २०७९-०९-१० गते फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड ०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसुङले दुई वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट (भेप) त्रि.बि भन्सार कार्यालयमा जफत भएपश्चात दाओजिन वाङले उक्त सामान त्रि.वि.भन्सार कार्यालयमा पक्राउ परेको तीन दिन भयो ? के भएको हो बुझिदिनु पर्‍यो भनि मलाई भनेको तथा मैले अरुण पोखरेललाई पहिले देखि चिनेको भएको हुनाले के कसो भएको हो, कानून बमोजिम के गर्न मिल्छ हेरि दिनुहोला भनि फोन गरेको हो,’महराले बयानमा भनेका छन्,‘मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त ईलेक्ट्रिक सिगरेट (भेप) जफत भएको रहेछ, कानून बमोजिम मिल्ने भए सहयोग गरि दिनु भनि अरुण पोखरेलको सम्पर्कमा गएका हुन् । निज दाओजिन वाङसँग मेरो पुरानो चिनजान हो, निजले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनि चिनाएका थिए र निजसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गर्दथ्यो । यो बाहेक निजसँग अन्य कुनै विषयमा कुराकानी हुने र अन्य कुनै किसिमको सम्बन्ध पनि छैन’। सीआइबीसँगको बयानमा महराले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्