Logo

कञ्चनजङ्घामा पर्यटक आगमनले व्यवसायी उत्साहित



फुङ्लिङ (ताप्लेजुङ), २४ असोज । मौसम खुलेसँगै ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा पर्यटकहरुको आगमन सुरु भएको छ । पर्यटकहरुको आगमन सुरु भएसँगै कञ्चनजङ्घा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

विश्वको तेस्रो कञ्चनजङ्घा हिमाल प्रवेशद्वार घुन्सा बस्तीहरुमा पर्यटकहरुको चलहलपहल बढ्दै गएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा चेक पोष्टका पर्यटन सहायक टाँसी तेन्जिङले बताए । बाह्य पर्यटकहरुले घुन्सा चेक पोष्टमा अनिवार्य आफ्नो विवरण दर्ता गर्नुपर्दछ । आन्तरिक पर्यटकहरुले भने आफ्नो विवरण दर्ता गर्नु पर्दैन ।

घुन्सा चेक पोष्टको तथ्याङकअनुसार असोजयता अमेरिका, क्यानडा, कोरिया, जापान, फ्रान्स, जमर्नी, अस्टेलिया लगायतका देशबाट एक सय चार बाह्य पर्यटक कञ्चनजङ्घा क्षेत्रमा अवलोकन गर्न पुगेका छन् । अजोस, कात्तिक र मङ्सिर गरी तीन महिना यस क्षेत्रमा पर्यटक आउने गर्दछन् ।

विश्वको अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्रमा अवलोकन गर्न आउने बाह्य पर्यटकहरुको चहलपहल सुरु भएसँगै पर्यटन व्यावसायि उत्साहित भएको शेर्पाले बताए । मौसम खुलेपछि कञ्चनजङ्घा हिमशृङ्खला टाढैबाट मनमोहक देखिन थालेको छ । बेसक्याम्प क्षेत्र झनै सुन्दर छ । हिमाली क्षेत्रको पदयात्रा गर्ने याम सुरु भएसँगै यो क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कोरोनाको प्रकोप हुनुपूर्व बाह्य र आन्तरिक पर्यटकको सङ्ख्यामा हरेक वर्ष बढोत्तरी हुँदै गएको थियो । कोरोना कालका केही वर्षपछि यो याममा ठूलो सङ्ख्यामा पर्यटक आइपुग्ने अपेक्षा गरिएको घुन्साका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए ।

विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घासँगै अन्य हिमशृङ्खला, हिमाली जनजीवन, यहाँको प्राकृतिक सौन्दर्य मनोरम छ । सुन्दर र उपयुक्त गन्तव्य हुँदाहुँदै पनि कम प्राथमिकतामा परेको कञ्चनजङ्घा अबको महत्वपूर्ण गन्तव्य बन्नेमा स्थानीयवासीको भनाइ छ । “घुम्न आउने याम सुरु भएको छ, कोरोनापछि यो पल्ट धेरै पर्यटक आउने अपेक्षा स्थानीयवासीको छ, आन्तरिक र केही विदेशी पर्यटक आउन थाल्नुभएको छ”, घुन्साका पर्यटन व्यवसायी धर्के शेर्पाले भने, “करिब १८–१९ दिनमा सर्किट नै पूरा गर्न सकिन्छ, घुम्ने अत्यधिक ठाउँहरु भएकाले यहाँ आउने पर्यटकहरु निकै रमाउनु हुन्छ, हामी स्वागत गर्न आतुर छौँ ।”

पदयात्राका लागि यो क्षेत्र निकै महत्वपूर्ण र रोचक रहेको छ । कञ्चनजङ्घाका उत्तरी र दक्षिणी बेस क्याम्प, फक्ताङलुङ हिमाल यहाँको अत्यन्त महत्वपूर्ण क्षेत्र हो । प्राकृतिक सौन्दर्यता, हिमाली संस्कृतिमा रमाउनका लागि महत्वपूर्ण छ । कञ्चनजङ्घासहित हिमाल, यहाँको हावापानी, ताल, पोखरी, हिमाली जनजीवन मुख्य विशेषता हुन् । यस क्षेत्रमा जाने पर्यटकहरुलाई लक्षित गरेर पदर्मागलाई व्यवस्थित गरिएको छ । होटल, टिहाउस भएकाले कञ्चनजङ्घा अवलोकन गर्न सहज हुने पर्यटन व्यवसायीहरुको भनाइ रहेको छ ।

यस क्षेत्रमा सडक निकै टाढा भएकाले टे«किङ गर्न उपयुक्त छ । क्रमशः पर्यटकहरुको वृद्धि हुने अपेक्षा कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषदले राखेको छ । बस्नका लागि होटल सुविधा रहेको छ । आन्तरिक पर्यटकहरुका लागि पनि महत्वपूर्ण गन्तव्य बनाउन सकिने ट्रेकिङ गाइड फुङ्सो जवेगुले बताए । आन्तरिक पर्यटकलाई घुमाउन पटक पटक पुगेका उनी धेरै सम्भावना भए पनि केही ओझेलमा यो क्षेत्र रहेको छ ।

कञ्चनजङ्घा क्षेत्रमा उत्तरी र दक्षिणी बेस क्याम्प रहेका छन् । आठ हजार पाँच सय ८६ मिटरको हिमालको बेसक्याम्प क्षेत्र घुम्न उत्तिकै रोचक, रमाइलो, उत्साहप्रद हुन्छ । उत्तरतर्फ पाङपेमा र दक्षिणतर्फ ओक्ताङ बेस क्याम्प रहेको छ । घुन्सा र चेराम भन्ने ठाउँ जोड्ने सेलेले पास छ । यही पास गरेर दुवै बेसक्याम्प क्षेत्र घुम्न सकिन्छ ।

ताप्लेजुङ सदरमुकामबाट सेकाथुमसम्म गाडीमा गएर उत्तरतर्फ यात्रा गर्न सकिन्छ । दक्षिणतर्फ याम्फुदिनसम्म गाडी पुगेको छ । यहाँबाट पदयात्रा गर्न सकिन्छ । दुवै बेसक्याम्प उत्तिकै आकर्षक छन् । उत्तरतर्फ लिम्बू समुदायको पवित्र धार्मिकस्थलका रुपमा मानेको फक्ताङलुङ (कुम्भकर्ण) हिमाल पर्छ । हेर्दा निकै आकर्षक देखिने यो हिमालको महत्व निकै रहेको पाइन्छ ।

काठमाडौँदेखि टाढा पर्ने ताप्लेजुङको सुकेटार विमानस्थलको भर नपर्ने हुँदा कम पर्यटक आएका हुनसक्ने बताइन्छ । कञ्चनजङ्घा हिमालका साथमा अन्य हिमशृङ्खला रहेका छन् । कञ्चजनजङ्घा मध्य, कञ्चनजङ्घा दक्षिण, फक्ताङलुङ, यलुङकाङ, काङबाचेन, किरातचुली, जोङसाङ, काब्रु, गिमीगेला, डोमा, पाथीभाराजस्ता हिमाल रहेका छन् ।

साँझमा ठाउँठाउँमा हिमाल पोखरी टल्किन्छन् । कञ्चनजङ्घा, कुम्भकर्णजस्ता हिमाल हेर्नलाई अति सुन्दर छन् । बिहानदेखि साँझसम्मका हिमालका बदलिरहने हिमालका दृश्य लोभलाग्दा छन् । बाटोभरि हिमाली संस्कृति र रहनसहन देखिन्छ । हिमालको काखमा चौँरी रमाएका देखिन्छन् । हिमाललाई पृष्ठभूमि बनाएर चौँरीको तस्बिर खिच्ने उत्तिकै देखिन्छन् । रासस



प्रतिक्रिया दिनुहोस्