Logo

एमालेको समर्थनमा कोसी प्रदेशको मुख्यमन्त्री बन्न सक्छु : सांसद कार्की



काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका नेता एवं कोसी प्रदेशका सांसद केदार कार्कीले नेकपा (माओवादी) केन्द्रलाई प्रदेशको मुख्यमन्त्री दिने सहमति नभएको बताएका छन् ।
‘माओवादीलाई मुख्यमन्त्री दिने सहमति कहाँ भएको छ ? मलाई थाहा छैन । सहमति भए सांसदहरुलाई थाहा दिनु पर्दैन ? माथिका नेताहरु बसेर गरेको सहमतिले हामीलाई छुन्छ भन्ने मलाई लाग्दैन । हामी अहिले पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने अडानमा छौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
हिजो राति गठबन्धनका शीर्ष नेताहरु बसेर मुख्यमन्त्रीमा इन्द्रबहादुर आङ्वोलाई अघि सार्ने सहमति भएको भन्छन् नि भन्ने प्रश्नमा कार्कीले भने, ‘इन्द्रबहादुरजी राम्रो मान्छे हो । उहाँ मन्त्री पनि भइसक्नुभएको छ । त्यसैले मैले उहाँका बारेमा कुनै टिकाटिप्पणी गर्नु परेन । तर माथि बसेर गरेको सहमतिको असर कोसीमा पर्छ भन्ने लाथ्दैन । नेताहरुलाई सम्मान गर्ने एक ठाउँमा छ ।स्टेक होल्डरको सल्लाह बेगर सहमति हुन्छ र ? यो राणाशासन होइन, लोकतन्त्र हो ।’
कार्कीले कांग्रेसभित्र निषेधको राजनीति हुन लागेको आरोप पनि लगाए । उनले थपे, ‘अहिले कसैको बहुमत छैन । त्यो माथिका नेताको होइन, माननीयजीहरुको अधिकारको कुरा हो । म एक्लैले यस्तो हुन्छ, उस्तो हुन्छ भन्ने कुरा छैन । तर कांग्रेसभित्र निषेधको राजनीति भइरहेको छ । हामी सहमतिको राजनीति अघि बढाउँ भन्नेमा पक्षमा छौं । माथिको निर्णय सबैले मान्छन् भन्ने छैन । घेराबन्दी जसले तोड्छ, उही नेता हुने हो ।’
दुई पटक मुख्यमन्त्री भएका उद्धव थापा अब मुख्यमन्त्री नबन्ने पनि उनले बताए । कार्कीले भने, ‘अब उद्धवजी बन्नु हुन्न । उहाँ प्रदेश सभापति हो, संसदीय दलको नेता पनि हो । हामीले उहाँको साथ छाडेको होइन । दुईचोटि उहाँलाई मुख्यमन्त्री बनायौँ । अब अन्य पार्टीको समर्थन पनि चाहियो ।’
कांग्रेसका आकांक्षीहरुका कारण मुख्यमन्त्री गुम्न लागेको हो भन्ने प्रश्नमा उनले भने, ‘कांग्रेस ठूलो पार्टी हो । यसमा धेरै नेताहरु छन् । आकांक्षी नहुने पार्टी त जसपा मात्र हो ।’ कार्कीले संविधानको धारा १६८ (५) को सही सदुपयोग हुँदाखेरि आफू मुख्यमन्त्री बन्न सक्ने दाबी गरे । उनले भने, ‘कोसी प्रदेशमा संवैधानिक इजलासको फैसलालाई टेकेर नयाँ अभ्यास हुन सक्छ । एमालेको समर्थनमा जो पनि मुख्यमन्त्री बन्न सक्छ । मलाई शेरबहादुरजी, प्रचण्ड, केपी ओली, माधव नेपाल, राजेन्द्र लिङदेन सबैको समर्थन हुन सक्छ । सबैले जसको सम्भावना छ, उसलाई साथ दिने स्थिति छ । त्यसका लागि पहिले त खल्तीबाट निकालेर चुम्बक सो गर्नुपर् यो नि ।’ आफूले हस्ताक्षर संकलन भने नगरेको उनले बताए ।
नेपाली कांग्रेस गुटकै कारण जीवित रहेको पनि उनले बताए । कार्कीले भने, ‘कांग्रेस स्थापना हुँदादेखि नै गुट छ । कांग्रेस जीवित भएकै गुटका कारण हो । यो पार्टीको शाख हो । यसलाई नकारात्मक लिन आवश्यक हुँदैन । पार्टीमा शक्ति संघर्ष पहिले पनि देखिएकै हो । तर कोसी प्रदेशमा कांग्रेस विभाजित हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्