Logo

कसैलाई कृष्णबहादुर महरासँग रिस उठ्दैमा थुन्न मिल्दैन : माओवादी नेता



काठमाडौं, २५ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सुन तस्करी काण्डमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा निर्दोष रहेको बताएका छन् ।
‘सरकारले मन नपरेको मान्छेलाई मुद्दा लगाउने, मन परेकालाई छाड्ने गर्दैन । सरकारको अनुसन्धान गर्ने निकायहरु छन् । हरेकका बाउछोरा वा दाजुभाइलाई मुद्दा लाग्छ र ? जसले कसुर गरेको छ, त्यसलाई मात्र मुद्दा लाग्छ । अनुसन्धान अधिकारीले राहुलजीलाई अलिअलि दाषी देख्यो होला, मुद्दा लगायो । तपाईंलाई कृष्णबहादुर महरालाई थुनेको भए हुन्थ्यो भन्ने लागेर हुन्छ र ? गल्ती गरेको भए उहाँलाई मुद्दा लाग्थ्यो । कसुरदारसँग चिनजानका कारण फोन गर्नु अपराध होइन नि । जानीजानी त्यस्तो कार्य गरेको भए पो मुद्दा लाग्छ । कसैलाई रिस उठ्यो भने मुद्दा लगाउन मिल्दैन नि,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग बिडारीले भने ।
महरालाई जोगाउन माओवादी पार्टी नलागेको पनि उनले बताए । बिडारीले थपे, ‘यो माओवादी पार्टीको सरोकारसँग जोडिएको कुरा होइन । सुनकाण्डको अनुसन्धान माओवादीले गरेको हो र ? माओवादी पार्टीले मुद्दा लगाइदिने हो र ? मुद्दा लगाउने सरकारी वकिल वा सीआईबी माओवादीले भर्ना गरेको हो र ? प्रहरी अधिकारीहरु स्वतन्त्र, निष्पक्ष भए त्यसमा कुनै प्रभाव पार्दैन ।’
कांग्रेस सांसद सुनिल शर्मा, अमरेशकुमार सिंह र डा. सुन्दरमणि दीक्षितले प्रचण्डसँग रिस उठेकाले अनेक आरोप लगाइरहेको बिडारीको दाबी छ । उनले भने, ‘सुनील शर्मालाई प्रचण्डसँग रिस उठेको छ । रिस उठेको मान्छेले, झगडा परेको मान्छेले के के भन्छन्, त्यसमा के कुरा गर्ने ? सुन्दरमणि दीक्षित राजनीतिक मान्छे होइनन्, डाक्टर मात्र हुन् । उनका कुरा दिनदिनै फरक हुन्छ । अमरेशजी पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा लगाउने तयारी भएकाले अनेक बोलिरहेका छन् ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि त सरकारले केही गर्न सकेन भनिरहनुभएको छ नि भन्ने प्रश्नमा बिडारीले थपे, ‘धेरै नेताले होइन, केही केही नेताले भनेका होलान् । सरकारले सबै भ्रष्टाचार मुद्दामा कर् याककुरुक समातेर कुचोले बढारे जस्तो गर्न सक्दैन । गठबन्धन हेर्दा सरकारको त्यो हैसियत पनि छैन । प्रचण्डले जति राम्रो गर्नुभयो, राम्रो गर्नुभयो । विरोध गर्नुपर्ने केही छैन । काम पुगेको छैन, त्यो त म पनि भन्छु ।’
नेपाली कांग्रेसका नेता शेखर कोइराला र गगन थापाले माओवादीलाई जन्मजात शत्रु मानेर प्रचण्डको विकल्प खोजिरहेको आरोप पनि बिडारीले लगाए । उनले थपे, ‘शेखरले कांग्रेसको नेतृत्वमा सरकार बनाउने कुरा अहिले होइन, चुनावअघिदेखि नै भन्नुभएको हो । उहाँको एउटै रटान छ । उहाँले माओवादीलाई जन्मजात शत्रु मान्नुभएको छ क्यारे । तर प्रचण्ड उहाँकै पार्टीको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो । उहाँले लोकतन्त्रमा मनोरञ्जन गरिरहनुभएको छ नि । गगनजी पनि शेखर क्याम्पकै मान्छे हो नि ।’
प्रतिपक्षी दलका नेता केपी ओली पनि जन्मजात माओवादीविरोधी भएको उनले बताए । बिडारीले भने, ‘केपी ओली पनि माओवादी विरुद्ध बोल्ने मान्छे हो । माओवादीले जनयुद्ध गरेको हो । त्यसले मुलुकमा परिवर्तन ल्याएको पनि हो । जनयुद्धमा कमीकमजोरी पनि भएकै हो । यो त हामी पनि भनिरहेका छौं ।’ कोसी प्रदेशको मुख्यमन्त्री माओवादीकै हुने पनि उनले ठोकुवा गरे ।



प्रतिक्रिया दिनुहोस्