Logo

उम्मेदवारलाई पाँच दिन झुलाएर एमालेले छान्यो सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व



काठमाडौं,२५ असोज । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा सहमतिबाट पदाधिकारी चयन गरेको छ। पाँच दिनसम्म अधिवेशन लम्ब्याएर एमालेले अछामका कृष्णप्रसाद जैसीलाई अध्यक्ष बनाएको छ । उनी अछामका पूर्वजिविस सभापति हुन्।

अछामका कमल तिमिल्सिना, भरत साउद र कञ्चनपुरका बचनबहादुर सिंहले बुधबार उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्ष चुनिएका छन्। सहमतिका लागि बाधक नबन्ने भन्दै तीनै जना प्रत्याशीले उम्मेदवारी फिर्ता लिएका हुन्।

उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही निर्विरोध भइसकेका छन्। उपाध्यक्षमा उम्मेदवारी दिएका हरिसिंह साउद, हजारी साउद, बलदेव रेग्मी, रणबहादुर महराले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन्।

सचिवमा रणबहादुर चन्द निर्विरोध चुनिएका छन्। रतनराज रेग्मी र राजेशकुमार खातीले उम्मेदवारी फिर्ता लिए पनि उनी सर्वसम्मत भए।

महिला उपसचिवमा भागिरथी विष्ट सर्वसम्मत भएकी छन्। कन्दकला राना र कलशा महराले उम्मेदवारी फिर्ता लिएपछि विष्ट सर्वसम्मत बनिन्।

खुला उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका छन्। अशोककुमार चन्दले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत बनेका हुन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि निर्वाचन प्रक्रिया लम्ब्याएर मंगलबारदेखि नेताहरूले सर्वसम्मतिको प्रयास गरेका थिए । विभिन्न पदमा आकांक्षा राखेका उम्मेदवारहरूलाई अन्यत्र व्यवस्थापन गर्ने आश्वासनसहित उम्मेदवारी फिर्ता गराइएको स्रोतले बतायो ।

अन्तिम समयमा नेता भीम रावल निकट मानिएका अध्यक्ष पदका उम्मेदवार भरत साउदले उपसचिवमा आफू निकट नरबहादुर विकका नाममा सहमति खोजेका थिए । नेताहरूले विकका नाममा सहमति गरेपछि सबै पदाधिकारी सर्वसम्मत चयन हुने अवस्था आएको हो ।



प्रतिक्रिया दिनुहोस्