Logo

केदार कार्की पक्षको गतिविधिलाई म ठीक मान्दिनँ : गुरुराज घिमिरे



काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले कोसी प्रदेशका संसदीय दलका नेता उद्धव थापाबाहेक अरु मुख्यमन्त्री हुन नसक्ने भन्ने संकीर्णता देखाएको आरोप लगाएका छन् ।
‘नेपाली कांग्रेस पार्टीजस्तो ढंगले चलेको छैन । पार्टीकै साथीहरुप्रति विभेद, पक्षपात र शत्रुतापूर्ण व्यवहार छ । कोसी प्रदेशमा त्यसैलाई बढावा दिने गरी गतिविधि भइरहेको छ । हाम्रो पार्टी सभापतिमा उद्धव थापाबाहेक कोही मुख्यमन्त्री बन्न सक्दैन भन्ने संकीर्णता देखियो । यो लोकतान्त्रिक चरित्र होइन । उद्धव थापाको विकल्पमा छलफल गरेर टुंगोमा पुग्नुपर्थ्यो । अर्कोतिर पनि अराजकता र अनुशासनहीनता देखियो । यो गतिविधिलाई म ठीक मान्दिनँ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
दलीय व्यवस्थामा निदर्लीय अभ्यास गर्न नहुने घिमिरेले बताए । उनले थपे, ‘यो व्यक्तिकेन्द्रित राजनीति होइन, दलीय व्यवस्था हो । दलीय व्यवस्थामा निदर्लीय अभ्यास वर्जित छ । हामीले दलको घेराबाहिर गएर अभ्यास गर्न मिल्दैन । अरु पार्टीको अराजकता कांग्रेसभित्र पनि छिर् यो । यसले कस्तो नजिर बनाउँछ ?’
नेता घिमिरेले दलको निर्णयबाहिर गएर सरकार बनाउने कुरा आत्मघाती हुने औंल्याए । उनले भने, ‘म पार्टीको केन्द्रीय समिति, प्रदेश कार्यसमितिको गतिविधिमा असलंग्न व्यक्ति हुँ । मैले पर्यवेक्षक वा घटनाको बारेमा टिप्पणी गर्ने हो । कोसी प्रदेशमा कांग्रेसका सांसदहरुले यो बाटो हिँड्नु वा रोज्नुहुँदैनथ्यो । यो ढंगले जानुहुँदैनथ्यो । दलभित्रै सहमति गरेर अघि बढ्नुपर्थ्यो । उद्धव थापाको विकल्पमा जाँदा संविधानको सुविधा उपयोग दलको दायरा नाघेर गर्ने भनेको होइन । यसरी सरकार बनाउन संविधानले रोकेको छैन । तर यसरी नै जाने हो भने पार्टी चाहिँ के हो त ? यसको गहिराइमै जानुपर्छ ।’
शेरबहादुर देउवा पनि संविधानको १६८ (५) अनुसार प्रधानमन्त्री बन्नुभएको होइन भन्ने धमलाको प्रश्नमा घिमिरेले भने, ‘हो, १६८ (५) संविधानले दिएको सुविधा हो । शेरबहादुरजी त्यसै अनुसार प्रधानमन्त्री बन्नुभयो । तर पार्टी त एकढिक्का थियो नि । रामचन्द्र पौडेल प्रतिस्पर्धामा जानुभयो, सहमतिमा शेरबहादुर प्रधानमन्त्री बन्नुभयो । तर यसैगरी निर्दलीय अभ्यासलाई प्रोत्साहन गरे हामी कहाँ पुग्छौ ? यसलाई स्वस्थ अभ्यास मानिँदैन ।’
राजनीतिक दलहरु निर्वाचनमार्फत जनतासँग जान डराएको आरोप पनि घिमिरेले लगाए । उनले भने, ‘यो राजनीतिक दलहरु जनतासँग जान डराएको प्रमाण हो । डराएका पार्टीहरुको भविष्य के हुन्छ ? पानीसँग डराउने माछाको अवस्था के हुन्छ ?’ अबको विकल्प मध्यावधि निर्वाचन नै भएको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्